बाँकेको नरैनापुरका ५९ सङ्क्रमितको उपचार नेपालगञ्ज र खजुरामा

बाँकेको नरैनापुरका ५९ सङ्क्रमितको उपचार नेपालगञ्ज र खजुरामा

केन्द्रबिन्दु
0
Shares

बाँके ।
बाँकेको नरैनापुरमा सोमबार एकैदिन भेटिएका ५९ कोरोना सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा राखेर उपचार सेवा प्रदान गरिने भएको छ ।

ती सङ्क्रमितमध्ये नेपालगञ्जस्थित लायन्स डेण्टल अस्पतालमा तयार गरिएको आइसोलेशन वार्डमा २५ र खजुराको क्यान्सर अस्पतालमा ३४ जनालाई राखेर उपचार सेवा दिन थालिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस अघि कोहलपुर–८ पिपरीस्थित कृषि विकास तालीम केन्द्रमा सङ्क्रमितलाई राख्न खोजिए पनि खजुरामै राख्ने निर्णय भएको छ । नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन वार्ड सञ्चालन गर्न कठिनाइ भएपछि सङ्क्रमितलाई नेपालगञ्ज र खजुरामा व्यवस्थापन गर्न लागिएको हो ।

लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल बनाई उपचार सेवा दिने तयारी गरिए पनि बिरामीले आवश्यक स्वास्थ्य सेवा पाउन नसक्ने देखिएपछि विकल्प खोजिएको सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।
नरैनापुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत् सुविधा नभएको र सङ्क्रमितलाई राख्न भेन्टिलेटर तथा आइसियु लगायतको व्यवस्था हुन नसक्ने देखिएका कारण नेपालगञ्ज र खजुरामा राख्न थालिएको हो ।

नरैनापुरमा सोमबार पुष्टि भएका सङ्क्रमितलाई आजैदेखि आइसोलेशनमा राखेर आवश्यक स्वास्थ्य सेवा प्रदान गरिने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन श्रेष्ठले जानकारी दिए । यस अघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ ।

मुम्बईबाट एउटै बसमा सङ्क्रमित
नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ । दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए । नेपाल प्रवेशपछि भने क्वारेन्टाइनमा राखिएकाले बाह्य व्यक्तिसँग सम्पर्कमा नरहेको बताइएको छ ।

सोमबार भेटिएका संक्रमितमध्ये धेरैलाई भोजपुरस्थित दीपेन्द्र माविको क्वारेन्टाइनमा राखिएको थियो । त्यस अघि संक्रमण पुष्टि भएका आठ जनामध्ये दीपेन्द्र माविकै तीन र जयकिसान माविमा दुई, नेरा प्रावि शंकरनगरमा एक, आदर्श मावि लक्ष्मणपुरमा एक र नेरा प्रावि खुदहवामा एक जनालाई राखिएको थियो । गाउँपालिकाका स्वास्थ्य संयोजक मोहम्मद मोइन खाँले पनि संक्रमित सबै भारतको एउटै शहर मुम्बईबाट आएको जानकारी दिए । नरैनपुरका २३ क्वारेन्टाइनमा रहेका सबै गत वैशाख २१ देखि यही जेठ ३ गतेसम्म भारतबाट आएका हुन् ।रासस

Logo