मृतक सङ्क्रमित महिलाका गाउँका ५४ र टोखाका २४ को पीसीआर रिपोर्ट नेगेटिभ

मृतक सङ्क्रमित महिलाका गाउँका ५४ र टोखाका २४ को पीसीआर रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक ।

नेपालमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको सम्पर्कमा आएका ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

आइतबार र सोमबार गरी १९७ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । उक्त सङ्ख्यामध्ये ५४ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाइँले जानकारी दिए । बाँकीको एकदुई दिनमा नै रिपोर्ट आउने उनले बताए। कोरोना सङ्क्रमित मृतक महिलाको शिशु, श्रीमान, माइतीघरको आमा र बहिनीको पीसीआर रिपोर्ट पनि यस अघि नै नेगेटिभ आएको चापागाइँले जानकारी दिए ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ राम्चे गाउँको चालिसेटोल, रातामाटा, ठोटनेरी, कालापानीगाउँ, टारबिसौनाका साथै मृतक महिलाको माइती गाउँ लगायतमा स्वास्थ्य टोली पुगेर स्वाब सङ्कलन गरेको थियो । स्वाब काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणको लागि पठाइएको थियो । नेगेटिभ रिपोर्ट आएपछि स्थानीयहरूमा त्रास कम हुँदै गएको गाउँका शिक्षक बलराम तिमल्सिनाले बताए ।

स्वास्थ्य निर्देशनालय, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, बाग्मती प्रदेशको सामाजिक विकास महाशाखा, स्वास्थ्य सेवा विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय र स्थानीय स्वास्थ्यकर्मीको टोलीले गाउँलेको स्वाब सङ्कलन गरेको थियो । नेपालमै पहिलोपटक राम्चेमा कोरोना भाइरसका कारण मृत्यु भएपछि जिल्ला सुरक्षा समितिले बाह्रबिसे नगरपालिका ९ र बलेफी गाउँपालिका वडा नम्बर ७ र ८ लाई सिल लगाएर स्वाब सङ्कलन गरेको थियो ।

यता टोखा नगरपालिकामा बस्ने सिन्धुपाल्चोककी एक सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएपछि टोखामा गरिएका २४ व्यक्तिको स्वाब परीक्षणमा कोरोना भाइरस नेगेटिभ देखिएको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–९ घर भई काठमाडौँको गोँगबुस्थित बुद्धमार्गमा बस्दै आएकी महिलाको शनिबार सिन्धुपाल्चोकबाट उपचारका लागि धुलिखेल अस्पताल लैजाने क्रममा मृत्यु भएपछि टोखामा गरिएको २४ जनाको स्वाब परीक्षणको नतिजा नेगेटिभ देखिएको हो ।गोरखापत्रबाट

Logo