‘प्रस्थान बिन्दुमै परीक्षण गरी उपत्यका प्रवेश गराऔं’ : महानगर

‘प्रस्थान बिन्दुमै परीक्षण गरी उपत्यका प्रवेश गराऔं’ : महानगर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग आग्रह गरेको छ । महानगरपालिकाको ४६ औँ विशेष नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो ।

‘कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि सरकारले घोषणा गरेको लकडाउनको अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दुहरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारी साधन तथा पासको दुरुपयोग गरी मानिसहरु उपत्यका प्रवेश गर्ने क्रम अहिले पनि नरोकिएको गुनासो आएको छ,’ महानगरका प्रवक्ता ईश्वरमान डंगोलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘ काठमाडौंमा कोरोना भाइरस संक्रमणको खतरा वढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको छ ।’

त्यसैगरी लकडाउनको अवधिमा कोही व्यक्ति अत्यावश्यक कामको लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरी कोरोना भाइरस नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउन नेपाल सरकार गृह मन्त्रालयलाई अनुरोध गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

‘लकडाउनको उल्लंघन गरी अनुमति नलिई लुकिछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्याउने व्यक्तिलाई समेत उच्च निगरानी गरी कानुन बमोजिम कार्वाही गर्न नेपाल सरकार गृह मन्त्रालयलाई आग्रह गरेका छौँ,’ डंगोलले भने, ‘नेपाल सरकारबाट जारी कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, ०७६ बमोजिम महानगर क्षेत्रमा आवश्यक संख्यामा क्वारेन्टाइन सञ्चालन र व्यवस्थापन गर्न र आवश्यकता अनुसार सःशुल्क क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन पनि हामीले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आग्रह गरेका छौँ ।’

कोभिड–१९ को संक्रमणको विस्तारलाई प्रभावकारी ढंगले रोकथाम गर्न अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रतिनिधिहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मीहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकहरुलाई निःशुल्क र सर्वसाधारणका लागि निःशुल्क एवं सशुल्क कोरोना भाइरस सम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि नेपाल सरकारलाई अनुरोध गरेको डंगोलले जानकारी दिए ।

‘लकडाउनको अवधिमा काठमाडौंमा बसोबास गर्ने कोही पनि भोकै बस्न नपरोस भन्ने उद्देश्यले कामपाले सबै वडाहरुमार्फत राहत वितरणको कार्य सञ्चालन भइरहेकोमा असहाय व्यक्तिहरु बाहेक दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकहरु र बेरोजगारको लागि तोकिए बमोजिम श्रममा आधारित राहत सहयोग मात्र वितरण गर्ने ब्यवस्था गर्दा दिगो हुने हुदा सो का लागि कार्यविधि तयार गरी कार्यन्वयन गर्ने निर्णय भएको छ ।’

त्यस्तै, कोभिड १९ को संक्रमण वढ्दै गएको र यसको लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखा पर्ने सम्भावना देखिएकोले यसको रोकथाम र नियन्त्रणको लागि सुरक्षा निकायको भूमिका र सक्रियता थप प्रभावकारी बनाउन गृह मन्त्रलायलाई अनुरोध गर्ने, लकडाउनको अवधिमा दैनिक उपभोग्य खाद्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन काठमाडौं महानगरपालिका क्षेत्रभित्रको औषधि, ग्यास र खानेपानी पसल बाहेक अन्य खाद्यान्न, फलफूल र तरकारी पसलहरु दैनिक विहान १० बजेसम्म मात्र सञ्चालन गर्न आवश्यक समन्वय सम्वन्धित निकायवाट गर्ने गराउने जस्ता निर्णय पनि बैठकले गरेको छ ।

‘काठमाडौं महानगरपालिकाका सबै वडा समितिहरुले लकडाउनको अवधिमा विदेश÷उपत्यका बाहिरबाट आएर आफ्नो वडामा बसोबास गर्दै आएका व्यक्तिको विवरण तोकिएको ढाँचामा राख्ने, उनीहरुको निगरानी गर्ने, स्वास्थ्य परीक्षण गरे नगरेको विवरण अद्यावधिक गर्ने र सो सम्बन्धी एकीकृत विवरण वडा कार्यालयहरुले दैनिक रुपमै प्रशासन विभागमा पठाउने व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ।

Logo