कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण देखिएसँगै उच्च सतर्कता

कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण देखिएसँगै उच्च सतर्कता

केन्द्रबिन्दु
0
Shares

सुर्खेत ।

कोरोना भाइरसको जोखिमबाट अब कर्णाली प्रदेश पनि अछुतो रहेन । हालसम्म सुरक्षित मानिएको यस प्रदेशमा लकडाउनको ५६ औं दिनपछि पहिलोपटक एकजनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

प्रदेश राजधानी सुर्खेतसँग जोडिएको जिल्ला दैलेख आठबीस नगरपालिकाका–१ साततलाका एक पुरुष युवामा सोमबार कोरोना भाइरस पुष्टि भएपछि यस प्रदेशमा सङ्क्रमण प्रवेश गरेको छ । भारतको आग्राबाट गत वैशाख ३१ गते आफ्नै गाउँ पुगेका ती युवाको सोमबार सुर्खेतको कोरोना परीक्षण प्रयोगशालाबाट पिसिआर परीक्षणको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

सो प्रयोगशालाले पुनः पुष्टिका लागि नमूना नेपालगञ्ज भेरी अस्पतालमा पठाएको थियो । त्यहाँ पनि रिपोर्ट पोजेटिभ देखिएपछि सोमबारनै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती युवामा कोरोना पुष्टि भएको सार्वजनिक गरेको थियो । यससँगै प्रदेश सरकारले उच्च सतर्कता बढाएको छ ।

भारतको आग्राबाट हिंडेका उनीसँगको ३९ जनाको टोली ४१ दिन भारतको वनवासा क्वारेन्टाइनमा बसेर आएको र गत बैशाख ३१ गते नगरपालिकाको पहलमा उनीहरुलाई उद्धार गरेर ल्याइएको सो नगरपालिकाका प्रमुख खड्गराज उपाध्यायले जानकारी दिए । उनले भने, “युवामा कोरोना सङ्क्रमण पुष्टि भएपछि हामीले एक वडाबाट अर्को वडामा जान बन्द (सिल) गरेका छौं र प्रदेश सरकारलाई परीक्षणको दायरा बढाउन अनुरोध गरिएको छ ।”

नगरपालिकामा अहिलेसम्म ५२ जना आइपुगेको जनाउँदै उनले आठबीसकै नागरिक भारतमा दुई हजारभन्दा बढीको सङ्ख्यामा रहेको लगत राखिएको बताए । कोरोना पुष्टि पश्चात् उच्च सतर्कता अपनाइएको बताउँदै नगरप्रमुख उपाध्यायले भने, “हामीले नगरपालिका भरि १९३ बेड सङ्ख्यामा क्वारेन्टाइन बनाएका छौं । बिरामीसहित क्वारेन्टाइनमा रहेका सबैलाई उच्च मनोबल राख्न र केही परे सरकार छ भनेर हौसला दिएका छौं ।” उनका अनुसार सङ्क्रमित युवाको अवस्था सामान्य छ ।

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले आठबीसका युवामा कोरोना पुष्टि भएपछि कन्ट्र्याक्ट ट्रेसिङका चिकित्सक टोलीलाई निर्देशन दिइसकिएको जानकारी दिए । भारतबाट कर्णाली प्रवेश गर्ने नागरिकका लागि अनिवार्यरुपमा आरडिटी र स्क्रिनिङ गर्न सुर्खेतको छिन्चुमा स्क्रिनिङ सेन्टर स्थापना भइसकेको बताए ।

उनले भने, “अब हामीले क्वारेन्टाइनमा बस्ने अवधि २१ दिन पुर्याउने सोच राखेका छौं । बिरामीको उपचार सेवालाई प्रभावकारी बनाउँदैछौं । मुख्य नाकाबाट कर्णाली प्रवेश नगरी लुकीछिपी आउनेका कारण कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै उनले यसमा सुरक्षा अवस्था कडाइ बनाइने जनाए ।

नागरिकको अनुशासन र उच्च सतर्कता अनिवार्य रहेको उनको भनाइ थियो । अहिलेसम्म सामान्यतः किटले धानिरहेको जनाउँदै प्रदेश सरकारले यसका लागि टेण्डर गरिसकेको, केही सङ्घीय सरकारसँग माग गरेको र केही विदेशबाट आएको उनले बताए ।

स्वास्थ्य सेवा निर्देशक रीता भण्डारी (जोशीले) सोमबारसम्म तीन हजार ३३६ जनाको पिसिआर परीक्षण भएको जानकारी दिइन्। सोमबार आठबीसका ३९ जनाको पिसिआर परीक्षणमा एकजना युवाको कोरोना पोजेटिभ देखिएको भन्दै उनले ती युवालाई आइसोलेशनमा राख्ने तयारी भइरहेको बताए।

“नमूना सङ्कलन भएका ३०० जनाको आज मात्र पिसिआर परीक्षण गर्दैछौं ”, उनले भने, “कालीकोट, हुम्ला, रुकुम, डोल्पा, मुगु लगायतका जिल्लाबाट पनि स्वाब सङ्कलन कार्य भइरहेको छ ।” दैलेख आठबीसका समुदायको सघन जाँच आवश्यक नभएको भन्दै उनले कोरोना सङ्क्रमित ती युवासँग एउटै बसमा आएकाको कन्ट्र्याक्ट टेसिङ गर्ने तयारी भइरहेको बताए । उनका अनुसार प्रदेश सरकारको योजनाअनुरुप प्रत्येक वडाबाट नमूना स्वाब सङ्कलन कार्य निरन्तर छ ।रासस

Logo