कोभिड-१९ विरुद्धको विश्व एकतालाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

कोभिड-१९ विरुद्धको विश्व एकतालाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री ढकाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसका विरूद्धको विश्व एकतालाई अझ प्रभावकारी बनाउँदै लैजानु पर्ने बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य महासभालाई गएराति भिडियोमार्फत सम्बोधन गर्दै उनले सर्वव्यापी स्वास्थ्य सुरक्षाका लागि सङ्गठनका सदस्य राष्ट्रहरूले थप एकताबद्ध भई प्रयास गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कोभिड नियन्त्रणमा डब्लुएचओ लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवाला निकायको भूमिका सराहनीय रहेको भन्दै उनले विश्व मानव समुदायको स्वास्थ्य रक्षा गर्न यसले खेलेको ऐतिहासिक भूमिकाको पुनः पुष्टि भएको उल्लेख गरे । उनले कोभिड–१९ महामारीका चुनौतीलाई संयुक्तरूपमा सामना गर्न विश्व समुदाय समक्ष समेत अनुरोध गरे ।

“स्वास्थ्य विकासको एक प्रमुख आधार हो । निःसन्देह नै स्वास्थ्यमा गरिने लगानीको महत्व र आवश्यकतालाई यस महामारीले थप पुष्टि गरेको छ”, उनले सम्बोधनमा भने, “यस महामारीले सबल र सक्षम स्वास्थ्य प्रणालीको आवश्यकता र स्वास्थ्य सामग्रीको आन्तरिक उत्पादनको महत्वलाई समेत उजागर गरेको छ । त्यसैले हाम्रा समग्र प्रयासलाई सघन बनाउन सबैको सहयोगको अपेक्षा राखेको छु ।” उनले कोभिड–१९ को विश्वव्यापी महामारीका सन्दर्भमा हामी निकै कठिन घडीबाट गुज्रिरहेकाले धेरै जोखिम र अनिश्चितता रहेको बताए ।

मन्त्री ढकालले कोभिड–१९ बाट हालसम्म नेपालमा दुई जनाको ज्यान गएको छ भने सङ्क्रमितको सङ्ख्या केही दिन यता बढ्दो क्रममा रहेको उल्लेख गर्दै नेपालका लागि आउँदा दिनहरू थप चुनौतीपूर्ण हुन सक्ने धारणा राखे । नेपालले महामारीको शुरुवातदेखि नै उच्च राजनीतिक प्रतिबद्धताका साथ बहुपक्षीय संयन्त्रमार्फत यस विपद्को प्रतिकार्य गर्दै आएको भन्दै उनले नेपालमा सङ्घीय प्रणाली संस्थागत हुँदै गइरहेको अवस्थामा कोभिडको नियन्त्रण र रोकथाममा तीनै तहबाट गरिएका संयुक्त प्रयासहरू सराहनीय भएको बताए ।

मन्त्री ढकालले विश्वभरि महामारीविरूद्ध अग्रपङ्तिमा रही निरन्तर खटिरहेका सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् । “कोभिड लगायत यस्ता सङ्क्रामक रोगको कुनै सीमाना हुँदैन र यसले कुनै रङ्ग, समूह र वर्गबीच विभेद गर्दैन”, उनले भने, “त्यसैले सबैको स्वास्थ्यको अधिकार सुनिश्चित गर्नु हामी सबैको साझा दायित्व हो ।”रासस

Logo