बाँकेका ४७ सङ्क्रमितलाई नरैनापुरमै व्यवस्थापन गरिने

बाँकेका ४७ सङ्क्रमितलाई नरैनापुरमै व्यवस्थापन गरिने

केन्द्रबिन्दु
0
Shares

बाँके ।
बाँकेको नरैनापुरमा हिजो भेटिएका ४७ सङ्क्रमितलाई नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

उनका अनुसार प्रदेश सरकारले खजुराको क्यान्सर अस्पतालमा सञ्चालन गरेको कोरोना विशेष आइसोलेशन अस्पतालकै रुपमा आइसोलेशन अस्पताल सन्चालन हुनेछ । लक्ष्मणपुर स्वास्थ्य केन्द्र चिकित्सकको दरबन्दी भए पनि केही वर्षदेखि चिकित्सकविहीन छ । निजी अस्पतालले शैया लगायत आवश्यक सामग्री सहयोग गरिसकेकाले भेरी अस्पतालको मातहतमा रहने गरी नरैनापुरमा आइसोलेशन सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल सञ्चालनका लागि पूर्वाधार अध्ययन भइरहेको जानकारी दिए । सङ्क्रमितलाई आज क्वारेन्टाइनबाट अलग्गै सुरक्षित तरिकाले राख्ने काम भइरहेको बताइएको छ । भारतबाट आएर नरैनापुरको विभिन्न क्वारेन्टाइनमा रहँदै आएका एक महिलासहित ४७ जनामा हिजो कोरोना पुष्टि भएको हो । यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ । बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २५ र बर्दियाका एक गरी २६ जनाको उपचार हुँदै आएको छ ।रासस

Logo