कोरोनाको विपतमा नेपाल स्काउटको सह्रानिय काम

कोरोनाको विपतमा नेपाल स्काउटको सह्रानिय काम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा गत चैत ११ गते देखि जारी लकडाउनको आज ५६ औं दिन हो । यस अवधि सम्म आइपुग्दा धेरै नागरिकहरु समस्यामा परेका छन् । आपत विपतमा परेका नागरिकका लागि धेरै व्यक्ति र संस्थाहरुले सहयोग गरेका छन् । यसैक्रममा अग्रपंक्तिमा रहेको छ नेपाल स्काउट ।

हुन त स्काउटले लकडाउन भन्दा पहिले पनि यस्ता सामाजिक कामहरु गरेको थियो । लकडाउनको सुरुवातदेखि नै यसले आफूलाई अग्रपंक्तिमा राख्न सफल भयो । विभिन्न ठाउँमा राहत वितरण गर्ने देखि लिएर राजधानीका विभिन्न धार्मिकस्थलमा मानिस जान नपाएपछि त्यहाँ भोका रहेका पशुपंक्षीलाई खानेकुरा खुवाउने र पछिल्लो पटक कोरोना संक्रमणबाट मृत्यु भएकी महिलाको शव व्यवस्थापनमा समेत स्काउटले आफूलाई सहयोगी संस्थाका रुपमा उभ्याउन सफल भएको छ ।

गत शनिबार सिन्धुपाल्चोककी २९ वर्षिय महिलाको कोरोना संक्रमणका कारण धुलिखेल अस्पतालमा मृत्यु भयो । यसको पुष्टि भएपछि अस्पतालको एम्बुलेन्सले शव बोक्न मानेन । संक्रमण फैलने डरले अरु कुनै पनि एम्बुलेन्सले शव बोक्न नमानेपछि भक्तपूर अस्पतालको विपत व्यवस्थापन विभागले विशेष प्रकारको एम्बुलेन्स धुलिखेल पठाउने निर्णय गर्यो । तर महिलाको शव छुने आँट गर्न कोहि तयार भएनन् । यहि अवस्थामा नेपाल स्काउट भक्तपूरका तालिम प्राप्त २ यूवाहरु एम्बुलेन्समा जान तयार भए ।

नेपाल स्काउट अन्तर्गत जिल्ला स्काउट कार्यालय भक्तपूरमा सक्रिय स्काउटर अरुण सैंजु र राजेश गाइजुको टोलीले धुलिखेल अस्पतालबाट ती महिलाको शव पशुपति आर्यघाटसम्म पुर्‍याउने काम गरेका हुन् । कसैले शव बोक्न नमानेपछि नेपाल स्काउटका स्काउटरहरुले यसको नेतृत्व गरेर पशुपतिको विद्युतिय शवदाह गृहसम्म शव पुर्याएको र जलाइसकेपछि उनीहरु फर्किएका थिए । हाल ती २ यूवाहरु भक्तपूरको सूर्यविनायक स्थित सैनिक परिसरमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका नेपाल स्काउट जिल्ला भक्तपूरका आयुक्त रामगोपाल कर्माचार्यले केन्द्रबिन्दुलाई जानकारी गराए ।

आपत विपत र मानवीय संवेदनशील घडीमा कुनै शव बाहानले शव बोक्न नमानेको खबर आएपछि स्काउटले ती यूवाहरुलाई धुलिखेल अस्पताल पठाएको र यो साहसीक काम गर्न सफल भएको पनि कर्माचार्यले बताए । विगतदेखि नै यस्तो आपत विपत लगायत अन्य सामाजिक काममा सक्रिय नेपाल स्काउटले आगामी दिनमा पनि यस्ता कामहरु गरिरहने पनि उनले बताए । यतिबेला नेपाल स्काउटको यो साहसिक कामको सबैले प्रशंसा गरेका छन् ।

यो त एउटा साहसिक काम नै भयो । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिती संयोजक लोकबहादुर भण्डारी यस संवेदनशील अवस्थामा आफ्नो जीवन जोखिममा राखेर स्काउटरहरुले गरेको शाहस देखेर नेपाल स्काउट गौरवान्वित भएको बताउँछन् । यसरी नै सुरक्षित तरिकाले आफ्नो अवस्थालाई पनि प्रमुख प्राथमिकतामा राख्दै मानव जातिको सेवामा क्रियाशिल रहन उनले देशभरका स्काउटहरुलाई अपिल समेत गरेका छन् ।

यसअघि नेपाल स्काउटले लकडाउनमा भोका भएका पशुपंक्षीहरूलाई दाना खुवाउने अभियानमा पनि आफूलाई सक्रिय बनाएको थियो । स्काउटले नेपालमा लकडाउन सुरु भएको पहिलो हप्ताबाट यो अभियान सुरु गरेको हो । अभियान अन्तर्गत स्काउटले पशुपति, स्वयम्भु, वसन्तपुर, चक्रपथ, बालुवाटार, भाटभटेनी, ज्ञानेश्वर, कमलादी , भद्रकाली लगायत विभिन्न ठाउँमा रहेका हजारौं भोका जनावरहरुलाई खानेकुरा दिएको थियो ।

त्यहाँ रहेका बाँदर, कुकुर, गाई र चराचुरुंगी लगायतलाई मासु, बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायतका खानेकुरा दिइएको संयोजक भण्डारीले जानकारी दिए । । यो सहयोग अहिले पनि जारी रहेको र आगामी दिनमा निरन्तर राखिने पनि बताइएको छ ।

यति मात्र होइन नेपाल स्काउटले बिगतमा कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम पनि गरेको थियो । विश्वभर महामारीको रूपमा फैलिएको भाइरसको रोकथामका लागि हात धुने अभियानसहित देशभरी एक सय भन्दा बढी स्थानमा ह्यान्ड वासिङ स्टेशन संचालन गर्ने काम पनि स्काउटले गरिसकेको छ ।

स्काउटले बढी भीडभाड हुने र जोखिम बढी हुने उपत्यकाका ५० स्थान र उपत्यका बाहिर पोखरामा ५, मोरङमा २०, मकवानपुरमा ५, चितवनमा ५, काभ्रेमा २, रसुवामा १, झापामा ५, सुनसरीमा २, दोलखामा १, सिन्धुपाल्चोकमा १, दैलेखमा १ र सर्लाही जिल्लाको २ स्थान गरी एक सय भन्दा बढी स्थानमा सर्वसाधारणका लागि हात धुने ठाउँ र स्यानिटाईजरको व्यवस्था गरेको छ ।

कोरोना भाइरसको रोकथामका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सर्वसाधारणलाई हात धुने तरिका, स्यानिटाईजरको प्रयोगबारे जानकारीका लागि पर्चा र ब्यानरसहित अभियान चलाइएको पनि राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिएका छन् ।

कोरोना महामारी सुरु हुनु भन्दा पहिले पनि स्काउटका सामाजिक कामहरु निरन्तर थिए । गएको शिवरात्रीमा पशुपति क्षेत्रमा नेपाल स्काउटले महाशिवरात्रीको भिड व्यवस्थापन गर्न  एक हजार स्वयम् सेवक परिचालन गरेको थियो । उपत्यकामा रहेका रोभर रेन्जर र स्काउट मास्टरलाई पशुपति क्षेत्रमा भिड व्यवस्थापन र दर्शनार्थीलाई सहज ढंगबाट पशुपतिको दर्शन गर्ने वातावरण सिर्जना गर्न स्काउटले नेतृत्वदायी भूमिका खेलेको थियो ।

यति मात्र होइन गतवर्ष बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा समेत नेपाल स्काउटको टोली गएको थियो । १५ जनाको टोली बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रमा गएर उद्धारका कामहरु गरेको थियो । । उनीहरुले त्यहाँ चामल, चिउरा, त्रिपाल, मेट्रेस वितरणका साथै प्राथमिक उपचार सामग्रीसहित लगेका थिए ।

यसरी आपत विपतमा स्काउटले आफूलाई अग्रपंक्तिमा उभ्याउँदै सक्रिय सामाजिक संस्थाका रुपमा चिनाउन सफल भएको छ । आगामी दिनमा पनि यस्तो सहयोग निरन्तर रहने संयोजक भण्डारीले बताए ।

Logo