सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध

केन्द्रबिन्दु
0
Shares

बैतडी ।
जिल्ला अस्पताल बैतडीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले सामान्य बिरामीलाई अस्पताल नआउन आग्रह गरेको छ । जिल्ला अस्पतालले आइतबार एक विज्ञप्ति जारी गर्दै धेरै भीडभाड हुने क्षेत्रमा सङ्क्रमणको जोखिम हुन सक्ने भएकाले अस्पतालले आउनु परे सावधानी अपनाएर र सतर्क रहन अनुरोध गरेको हो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा वसन्तराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबैखाले बिरामी आउने भएकाले अस्पतालमा जोखिम बढिरहेको र सङ्क्रमण भइहाले पनि गाउँगाउँसम्म पनि फैलने भएकाले अत्यावश्यकबाहेक सामान्य अवस्थामा अस्पताल नआउन अनुरोध गरिएको छ ।

आकस्मिक सेवा २४ सै घण्टा र कोरोना क्लिनिक बिहान १० देखि ३ बजेसम्म उपलब्ध रहेको जानकारी गराउँदै अस्पताल आउनुपूर्व ०९५–५२००६५ मा फोन गरेर आउन अनुरोध गरेको छ । कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण देखिएमा नजिकको स्वास्थ्यकर्मीलाई खबर गर्न आग्रह गरिएको छ । सरकारले घोषणा गरेको लकडाउनको पूर्णपालना गर्न, सतर्क रहन र त्रसित नबन्न पनि अस्पतालले भनेको छ । कोरोनाको सङ्क्रमण फैलिहाले पनि कुनै औषधि नभएकाले आत्मबल बढाउनसमेत जोड दिइएको छ ।

गौरीफन्टा नाकाबाट बैतडीका १२७ भित्रिए

कैलालीको गौरीफन्टा नाका भएर बैतडीका १०० भन्दा बढी नेपाली नागरिक भित्रिएका छन् । शुक्रबार ८८ र शनिबार ३९ जना गरी १२७ जना उक्त नाकाबाट स्वदेश भित्रिएका हुन् ।

शुक्रबार भित्रिएका ८८ जनाको कैलालीमै आरडिटी परीक्षण गरी आइतबार विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा राखिएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । यस्तै शनिबार स्वदेश भित्रिएका नागरिक भने बैतडी पुग्न बाँकी रहेको उनले बताए । उनीहरुको पनि आरडिटी गरी अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखिने जनाइएको छ ।

शिवनाथका ४९ जना रहेकोमा ती सबैका लागि कैलालीसम्म बस पठाएर उद्धार गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले जानकारी दिए । उनीहरूलाई विभिन्न क्वारेन्टाइनमा व्यवस्थितरुपमा राखिएको छ । भारतमा लकडाउन खुकुलो हुँदा त्यहाँका विभिन्न शहरमा रहेका नेपाली मजदुर फर्किन थालेका छन् ।रासस

Logo