प्रदेश र देशलाई सुरक्षित राख्न सबैको साझा लक्ष्य : मुख्यमन्त्री राउत

प्रदेश र देशलाई सुरक्षित राख्न सबैको साझा लक्ष्य : मुख्यमन्त्री राउत

केन्द्रबिन्दु
0
Shares

जनकपुर ।

प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले भारतसँग खुल्ला सीमाना र उच्च जनघनत्वका कारण यो प्रदेश कोरोना भाइरसको उच्च जोखिममा रहेको बताएका छन् । कोरोना भाइरसको सन्दर्भमा भिडियोमार्फत आइतबार प्रदेशलाई सम्बोधन गर्दै उनले आजको कष्टपूर्ण अवस्थाबाट भोलि सहज अवस्थामा पुग्नका लागि राजनीतिक दलका नेता, कार्यकर्ता, कर्मचारी, बुद्धिजीवी, शिक्षक र व्यवसायी लगायत सम्पूर्ण प्रदेशवासीलाई कोरोनाविरुद्ध ऐक्यबद्ध भएर लाग्नुपर्ने आवश्यकता औँल्याए।

उनले भने, “राजनीतिक आस्था र विचारबाट माथि उठेर कोरोनाले निम्त्याएको सङ्कट समाधान गर्न र देश एवम् प्रदेशलाई सुरक्षित राख्न सबैको साझा लक्ष्य हुनुपर्छ ।” यस प्रदेशमा वीरगञ्जमा रियल टाइम (पिसिआर) मेशिनबाट र जनकपुरधाममा पोरटेवल (पिसिआर) मेशिनबाट कोरोनाको परीक्षण भइरहेको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री राउतले अस्थायी राजधानी जनकपुर र राजविराजमा कोरोना परीक्षणका लागि रियल टाइम (पिसिआर) मेशिन खरिदको प्रक्रिया अगाडि बढाइसकिएको जानकारी गराए ।

कोरोना भाइरसको उपचार तथा रोकथामलाई दृष्टिगत गर्दै मुख्यमन्त्री राउतले भने, “वीरगञ्जस्थित नारायणी अस्पताल र जनकपुरको प्रादेशिक अस्पताललाई १०/१० र अन्य जिल्लाका अस्पतालका लागि पाँच÷पाँच थान गरी ५० थान भेन्टिलेटर र प्रत्येक जिल्लामा एक÷एकवटा एम्बुलेन्स र शववाहन खरिदको प्रक्रिया अगाडि बढाइएको छ ।” उनले क्वारेन्टाइन, आइसोलेशन र कोभिड–१९ विशेष अस्पताल निर्माणका लागि प्रदेशको मातहतमा रहेको अस्पतालको स्तरोन्नति तथा पूर्वाधार निर्माणका लागि रु पाँच करोडदेखि रु २० करोड उपलब्ध गराइएको जानकारी गराए।

धनुषाको गङ्गुलीस्थित क्वारेन्टाइनको थप सुदृढीकरण, जलेश्वर, कलैया र गजेन्द्रनारायणसिँह अस्पताललाई कोभिड–१९ अस्पताल निर्माणका लागि स्तरोन्नति गर्ने कार्य भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले पर्साको पोखरिया अस्पताल, सप्तरीको भारदह अस्पताल र धनुषाको डुमरिया अस्पतालको स्तरोन्नतिको कार्य भइरहेको बताए। उनले लकडाउनलाई पूर्ण पालना गरी सहयोग गर्न सबैमा आग्रहसमेत गरे ।रासस

Logo