नेपालमा कोरोनाबाट २ जनाको मृत्यु, संक्रमितको संख्या २९२

नेपालमा कोरोनाबाट २ जनाको मृत्यु, संक्रमितको संख्या २९२

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या २ जना पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बाँकेको नरैनापुर ५ का २५ वर्षिय युवकको कोरोना भाइरस संक्रमणका कारण निधन भएको हो । गत वैशाख ३० गते भारतबाट आएका ती युवकमा गएरातिबाट ज्वरो र झाडापाखाला लगायतका समस्या देखिएको थियो । उनको आज बिहान क्वारेन्टाइनमै निधन भएको हो । उनको स्वाव परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको प्रवक्ता देवकोटाले बताए ।

यसअघि धुलिखेल अस्पतालमा २९ वर्षिया सुत्केरी महिलाको कोरोना भाइरसकै कारण मृत्यु भएको थियो । धुलिखेल अस्पतालमा निधन भएकी महिलाको कन्ट्याक्ट ट्रेसिङ भइरहेको मन्त्रालयले जनाएको छ । सोहीक्रममा उपत्यकाका विभिन्न स्थानमा ४ सय बढीको नमुना परीक्षणको तयारी मन्त्रालयले गरेको छ । जसमा १ सय ५० जनाको पिसिआर र २ सय ५० आरडिटी परीक्षणका लागि नमुना संकलन सुरु भएको उनले बताए ।

आइतबार संक्रमितको संख्या २ सय ९२ पुगेको छ । ३६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा पिसिआर विधिबाट १ हजार ४ सय ६९ वटा नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट २ हजार २० वटा गरी जम्मा ३ हजार ४ सय ८९ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट २८ हजार १ सय ६० र आरडिटी विधिबाट ६७ हजार ७ सय ६९ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । प्रदेश नम्बर १ मा ९ हजार १ सय ८६, प्रदेश नम्बर २ मा ६ हजार, बागमती प्रदेशमा ११ हजार २ सय ५७ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ६ हजार ९ सय ३२, प्रदेश नम्बर ५ मा ८ हजार ७ सय ५१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७२ र सुदूरपश्चिम प्रदेशमा १८ हजार २ सय ७१ वटा आरडिटी परीक्षण भएको उनले बताए  ।

प्रवक्ता देवकोटाका अनुसार उपत्यकामा ३५ र बाहिर ३ सय ११ गरी ३ सय ४६ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा १ सय २२ र उपत्यमा ३५ सहित बागमती प्रदेशमा ७१ जना आइसोलेसनमा रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १, प्रदेश नम्बर ५ मा १ सय १७ र सुदूरपश्चिम प्रदेशमा ११ जना जना आइसोलेसनमा रहेका छन् ।

अहिले देशभरी १८ हजार ३ सय ५७ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा ९ सय ४७, प्रदेश नम्बर २ मा २ हजार ६ सय १३, बागमती प्रदेशमा २ सय २७ र गण्डकी प्रदेशमा ३ सय ६० जना क्वारेन्टाइनमा रहेका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ११ जार ९ सय ४८, कर्णाली प्रदेशमा ६ सय ३४ र सुदूरपश्चिम प्रदेशमा १ हजार ६ स २८ जना क्वारेन्टाइनमा रहेका छन् ।

Logo