कोरोनाबाट पहिलो मृत्यु भएकी महिलाको पोस्टमार्टम भएन, उच्च सतर्कतासहित सदगत

कोरोनाबाट पहिलो मृत्यु भएकी महिलाको पोस्टमार्टम भएन, उच्च सतर्कतासहित सदगत

केन्द्रबिन्दु
0
Shares

काठमााडौं ।

कोरोनाकै कारण काभ्रेको धुलिखेल अस्पतालमा एक महिलाको मृत्यु भएको छ । गत बिहीबार राति ९ः३० बजे उपचारार्थ धुलिखेल अस्पताल पुर्याइएकी सिन्धुपाल्चोकको बाह्रबिसे -९ की उनको केही समयपछि नै मृत्यु भएको थियो ।

कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको पोस्टमार्टम विशेष सावधानीका साथ गर्नुपर्छ । तर, ती महिलाको पोस्टमार्टम हुन सकेन । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र झा यो विषयमा खुलेनन् । ‘भक्तपुरबाट एम्बुलेन्स आयो, शव लिएर गयो’, डिस्ट्रिक्ट क्राइसिस म्यानेजमेन्ट सेन्टरका सदस्यसमेत रहेका डा. झाले भने, ‘किन पोस्टमार्टम गरिएन भनेर मलाई नसोध्नुस् ।’ मन्त्रालयका एक उच्च अधिकारीले भने संक्रमणको डरका कारण पोस्टमार्टम हुन नसकेको बताए ।

ती सुत्केरी महिलालाई जेठ १ गते राति साढे ९ बजे धुलिखेल अस्पतालको मूल गेटमा ल्याइ पुर्‍याइयो । त्यति बेला उनको श्वासप्रश्वास बन्द भइसकेकाले आकस्मिक कक्षमा सीपीआर र इन्क्युवेटलगायत प्रक्रिया अपनाइएको अस्पतालले जनाएको छ।

‘स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ’, मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

परिवारका सदस्यले बताएका लक्षण कोरोनासँग मिल्दोजुल्दो भएपछि मृतकको तत्कालै द्रुत परीक्षण (आरडीटी) गरिँदा रिपोर्ट पोजिटिभ आएको अस्पताल स्रोतले जनाएको छ । नर्मल डेलिभरीपछि २५ गते डिस्चार्ज भएर घर गएकी उनमा ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो । उनलाई बिहीबार थप उपचारका लागि धुलिखेल ल्याइएको थियो ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. झाले अस्पतालको गेटमा पुग्दा सुत्केरीको मृत्यु भइसकेको सुनाए । उनका अनुसार ती महिलाको उपचारमा संलग्न चिकित्सक, नर्स, पारामेडिकल, सुरक्षागार्डलाई क्वारेन्टाइनमा राखिएको छ। धुलिखेल अस्पतालले आकस्मिक कक्ष सिल गरेको छ। अस्पताल वरपर आउजाउ गर्न पनि रोक लगाइएको छ।

मन्त्रालयको टोलीले सुत्केरीको मृत्यु भएको विषयमा शनिबार धुलिखेल अस्पतालको टिमसँग छलफल गरेको थियो। मन्त्रालयबाट आएका डा. गुणराज लोहनी र डा. दीपेन्द्ररमण सिंह लगायत छलफल गरी शनिबारनै काठमाडौं फर्किएका थिए।

उच्च सतर्कतासहित सदगत

ती महिलाको शव शनिबार राति काठमाडौंमा ल्याइएको थियो। त्यसलाई विद्युतीय शवदाह गृहमा सदगत गरिएको डा. झाले बताए । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिको शव जथाभावी सदगत गर्न नहुने कार्यविधिमा उल्लेख छ। शवलाई कमभन्दा कम चलाउनुपर्छ। शवलाई ‘डिसइन्फेक्ट’ गर्न भने आवश्यक छैन। शव लिएर काठमाडौं आएका चालक र कर्मचारीले व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) प्रयोग गरेका थिए।अन्नपूर्णबाट

Logo