नेपालमा कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदै

नेपालमा कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना भाइरसको ‘स्ट्रक्चर’ अध्ययन हुँदैछ । नेपाल प्रवेश गर्दा कोरोना भाइरसले स्वरूप परिवर्तन गरेको अनुमानसहित स्वास्थ्य मन्त्रालयले अध्ययन–अनुसन्धान गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मा दिएको छ । अनुसन्धानमा कोरोना भाइरसको प्रकार, बनावट र संरचना हेरिनेछ ।

देशभर अहिले देखिएका संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिनु र कुनै पनि संक्रमित आइसियूमा बस्नुपर्ने अवस्था नआएकाले यसले नेपालमा रूप परिवर्तन गरेको हुन सक्ने अनुमान गरिएको स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

विश्वव्यापी रूपमा देखिएको ‘ट्रेन्ड’अनुसार सय संक्रमितमध्ये ८० जनामा सामान्य लक्षण देखिने, संक्रमितको १५ प्रतिशत आइसियू र पाँच प्रतिशतलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । यो अनुपात नेपालमा भने मिलेको छैन । यहाँ अहिलेसम्म कुनै पनि संक्रमितलाई आइसियू र भेन्टिलेटरमा बस्नु परेको छैन । स्वास्थ्य मन्त्रालयका अनुसार अधिकांश संक्रमितमा लक्षणसमेत देखिएको थिएन ।

त्यस्तै, संसारभरको अध्ययनले ६० वर्षमाथिको उमेर समूहलाई कोरोना संक्रमणको उच्च जोखिम हुने देखाएको छ । तर, नेपालमा यो समूहका संक्रमितमा पनि लक्षण देखिएको छैन ।

अध्ययन–अनुसन्धान गर्ने जिम्मा पाएका परिषद्ले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, प्राज्ञिक संस्था, अस्पताल, वैज्ञानिक, नास्ट, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत अनुसन्धानमा संलग्न संस्था र व्यक्तिलाई अनुसन्धानमा सामेल गराएको छ । परिषद्ले उनीहरूसँग बृहत् छलफल पनि गरेको छ ।

परिषद्का अनुसन्धानकर्ता डा. मेघनाथ धिमालका अनुसार नेपालमा धेरै संक्रमितमा कोरोनाको लक्षण देखिएको छैन । अन्य मुलुकको तुलनामा नेपालमा बेग्लै प्रकारको संक्रमण भएको अनुमान गरिएको छ । अन्य देशभन्दा नेपालमा के कारणले फरक पर्न गयो भन्नेबारे अहिले नै केही भन्न सकिँदैन । ‘अध्ययनपछि मात्रै बाल्न सकिन्छ, तयसका लागि छलफल सुरु गरिएको छ,’ डा.धिमालले भने ।नयाँ पत्रिकाबाट

Logo