‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई जेठ ५ पछि घर पठाइनेछ’ : स्वास्थ्यमन्त्री

‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई जेठ ५ पछि घर पठाइनेछ’ : स्वास्थ्यमन्त्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जेठ ५ गतेपछि क्वारेन्टाइनमा रहेका व्यक्तिहरुलाई घर पठाइने बताएका छन् ।

१४ दिन क्वारेन्टाइनमा बसेकाहरुको हकमा आरडिटी र अन्यको हकमा पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आए घर पठाइने उनले बताए । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा मन्त्री ढकालले भने, ‘क्वारेन्टाइनमा रहेका व्यक्तिहरु १४ दिन पुगेकाहरुको हकमा आरडिटी र नपुगेकाहरुको हकमा पिसिआर वा अस्पतालको जिम्मा लगाउने तयारी भएको छ । ५ गतेपछि रिपोर्ट नेगेटिभ आएकाहरु घर पठाइन्छ ।’

मन्त्री ढकालले उपत्यकामा जनसंख्याको अनुपातमा परीक्षण न्यून रहेकाले बढाउने तयारी सरकारले गरेको बताए । सरकारले उच्च जोखिममा रहेका क्षेत्रहरुलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि उनले बताएका छन् ।

सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गरिने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्यकर्मीको कोभिड–१९ परीक्षण गर्ने भएको छ । स्वास्थ्यकर्मीले कुनै पनि बिरामीको स्वास्थ्य उपचार गर्नु पर्ने भएकाले जोखिम बढ्ने हुँदा पिसिआर विधिबाट परीक्षण गरिने भएको मन्त्रालयका विज्ञ सल्लाहकार डा खेम कार्कीले जानकारी दिए । उनका अनुसार आजैदेखि स्वास्थ्यकर्मीको परीक्षण शुरु गरिएको छ ।

यसैगरी मन्त्रालयले उपत्यकामा रहेका सुरक्षाकर्मी, मजदुर र पत्रकारको पनि कोभिड–१९ परीक्षण गर्ने भएको छ । उनले बन्दाबन्दीको समयमा पनि काममा खटिरहेकाले परीक्षण गर्ने बताए । उनीहरुको परीक्षणका लागि मन्त्रालयले कार्यविधि बनाइरहेको छ । केही दिन अघि दुई पत्रकार र केही सुरक्षाकर्मीमा कोभिड–१९ को सङ्क्रमण देखिएको थियो । अहिलेसम्म पिसिआर २२ हजार ६६४ को र आरडीटी परीक्षण ६२ हजार ३२७ मा गरिएको छ ।

Logo