कोरोना जितिन् चितवनकी ६३ वर्षीया महिलाले, आज डिस्चार्जको तयारी हुँदै

कोरोना जितिन् चितवनकी ६३ वर्षीया महिलाले, आज डिस्चार्जको तयारी हुँदै

केन्द्रबिन्दु
0
Shares

चितवन ।
कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालमा उपचाररत ६३ वर्षीया महिलाको दुईपटकसम्म गरिएको स्वाब परीक्षण नेगेटिभ आएको छ । यससँगै उनी कोरोनामुक्त भएकी छिन् । यससँगै चितवनमा कोरोनाका बिरामी रहेका छैनन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार पूर्वी चितवनको राप्ती नगरपालिकाकी ती महिलाको नतिजा नेगेटिभ आएको हो ।

यसअघिका पाँचपटकको नतिजामा नियमित पोजेटिभ देखिएकी ती महिलालाई छैठौं र सातौं नतिजा नेगेटिभ आएसँगै भरतपुर अस्पतालले उनलाई बुधबार डिस्चार्ज गर्दैछ । तिवारीका अनुसार दिउसो उनलाई घर पठाएर अस्पतालमा राखिएको ठाउँमा भाइरस मार्नका लागि औषधि छरिंदैछ ।

चैत ३ गते हङकङ हुँदै काठमाडौं आएर ५ गते राप्ती नगरपालिका–८ स्थित घर आएकी उनमा वैशाख ३ गते र्यापिड डाइग्नोस्टिक परीक्षणका क्रममा शङ्कास्पद देखिएको थियो । आमामा शङ्कास्पद देखिएपछि उनी र उनीसँगै आएका दुई छोराको समेत पिसिआर परीक्षण गर्दा वैशाख ५ गते आमा र एक छोरामा कोरोना पुष्टि भएको थियो । उनीसँगै पोजेटिभ देखिएका उनका २७ वर्षीय छोरालाई भने अस्पतालले केही दिन अघि नै नेगेटिभ देखिएपछि डिस्चार्ज गरिसकेको छ ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले लगातार दुईपटकसम्म नेगेटिभ आए पनि घरमा केही दिन क्वारेन्टाइनमा बस्न सुझाव दिएर पठाइने जानकारी दिए ।रासस

Logo