नेपालमा एकैदिन ५७ जनामा कोरोना पोजिटिभ, १९१ पुग्यो

नेपालमा एकैदिन ५७ जनामा कोरोना पोजिटिभ, १९१ पुग्यो

केन्द्रबिन्दु
0
Shares

मुलुकका विभिन्न जिल्लामा गरेर आज थप ५७ जनामा कोभिड–१९ सङ्क्रमण भएको पुष्टि भएको छ । सङ्क्रमित भएका मध्ये सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी सङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा सङ्क्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुको सङ्क्रमण भएको बताए । यससँगै हालसम्म सङ्क्रमितको सङ्ख्या १९१ पुगेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा सङ्क्रमण देखिएको हो । यसअघि सोमबारसम्म १३४ जना सङ्क्रमित भेटिएका थिए ।

सहप्रवक्ता डा अधिकारीका अनुसार सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । नेपालमा पहिलोपटक चीनको वुहान शहरबाट आएका एक विद्यार्थीमा माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिलेसम्म ३३ जना कोभिड–१९ का सङ्क्रमित निको भई घर फर्किसकेका छन् ।

सहप्रवक्ता डा अधिकारीले भारतबाट आउने क्रम बढेसँगै शङ्कास्पद व्यक्तिलाई परीक्षण गर्दा यति धेरैको सङ्ख्यामा सङ्क्रमित पहिलोपटक सङ्क्रमित भेटिएको बताए । ‘‘पहिलाभन्दा अहिले भारतबाट मानिस पनि आवतजावत गरिरहेका छन्”, उनले भने, ‘‘क्वारेन्टाइनमा बसेकालाई पनि हामीले बढी परीक्षण गरिरहेको हुनाले सङ्क्रमति फेला परेका हुन् ।”

उहाँले धमाधम सङ्क्रमित भेटिरहेकाले निगरानी बढाउन आवश्यक रहेको बताए । मन्त्रालयले अहिले दैनिक एक हजारमा पिसिआर र करिब दुई हजारमा आरडिटी परीक्षण गरिरहेको छ । मुलुकभरि पिसिआर १९ ठाउँमा र आरडिटी ७७ जिल्लामा भइरहेको छ ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।

Logo