कपिलवस्तु पूर्ण बन्दः सुरक्षा जनशक्ति अपुग

कपिलवस्तु पूर्ण बन्दः सुरक्षा जनशक्ति अपुग

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।
कपिलवस्तु जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि स्थानीय प्रशासनले जिल्लालाई नै बन्द गरेको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सोमबार बसेको जिल्लाको सुरक्षा समितिको बैठकले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि साँझ ५ बजेदेखि आगामी जेठ ५ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) क र संक्रमण ऐन २०२० को दफा २ (१) बमोजिम पूर्णरुपमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जारी गरेको सूचनामा जनाइएको छ ।

उक्त अवधिमा जिल्लामा अत्यावश्यक खाद्यान्न, तरकारी, फलफूल, दूध, पेट्रोलियम पदार्थ, ग्यास, औषधि, पानी, पशुपक्षीको दानाका गाडी, एम्बुलेन्स, शववाहन तथा राजमार्ग भएर गुड्ने सवारी साधनबाहेक जिल्लाका कुनै पनि स्थानमा चढ्न ओर्लन नपाउने गरी जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारी साधन, मानिसको आवतजावत र सम्पूर्ण किसिमका गतिवधि, उद्योग कलकारखाना, निर्माणसँग सम्बन्धित कार्य, व्यापार व्यवसायमा पूर्णरुपमा रोक लगाइएको उल्लेख छ ।

संक्रमित कोरोना अस्पतालमा
कपिलवस्तुमा फेला परेका कोरोना संक्रमितलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा राखिएको छ । उनीहरुलाई जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्सको व्यवस्था गरेर बुटवल पठाएको हो ।

कोरोना संक्रमितको शुरुमा लुम्बिनी प्रादेशिक अस्पतालमा अन्य रोगको परीक्षण गरी बुटवल धागो कारखानामा निर्माण गरिएको कोरोना अस्पतालमा भर्ना गरिएको अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले जानकारी दिए ।
संक्रमितको अवस्था अहिलेसम्म सामान्य नै रहेको समेत उनले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पतालमा उनीहरु सबैको अन्य स्वास्थ्यवस्थाको परीक्षण गरी कोरोना अस्पतालमा लगिएको हो । उनीहरुमा अन्य स्वास्थ्य समस्या केही नरहेकोसमेत डा थापाले बताए ।

सोमबार पुष्टि भएका १६ सहित बुटवल कोरोना अस्पतालमा भर्ना भएका संक्रमितको संख्या २२ पुगेको छ । तीमध्ये १५ जना कपिलवस्तुका छन् भने एक युवक रुपन्देहीका हुन् । संक्रमित सबैको अवस्था सामान्य नै रहेको र उनीहरुलाई स्वास्थ्यकर्मीको कडा निगरानीमा राखिएको छ ।

नाकाबाट लुकेर प्रवेश
कपिलवस्तुमा फेला परेका १६ संक्रमित भारतको मुम्बईबाट लुकिछिपी नेपाल आएका हुन । रोजगारीका सिलसिलामा भारत गएका उनीहरु सहजै नेपाल प्रवेश नपाएपछि विभिन्न मितिमा लुकिछिपी प्रवेश गरेका थिए । कोरोना संक्रमित फेला परेका क्वारेन्टाइनमा यशोधरा गाउँपालिकामा रहेको अनिरुद्ध माध्यमिक विद्यालयका सात, पशुपति शिक्षा मन्दिरको क्वारेन्टाइनमा एक र बुद्धभूमि नगरपालिकाको गौतमबुद्ध क्वारेन्टाइनका दुई जना छन् ।रासस

Logo