विर्यमा पनि कोरोना भाइरस ! शारीरिक सम्बन्धबाट सर्छ ?

विर्यमा पनि कोरोना भाइरस ! शारीरिक सम्बन्धबाट सर्छ ?

केन्द्रबिन्दु
0
Shares

विश्वभर महामारीकोरूपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड १९ को बारेमा विश्वभर अनुसन्धान भइरहेको छ । एकातिर यसको संक्रमणको विषयमा अध्ययन अनुसन्धान भइरहेको छ भने भने अर्काेतिर उपचार पद्धतीका विषय अनुसन्धानहरु भइरहेका छन् । चीन, अमेरिकी, इजरायललगायतका मुलुकहरुले यस विषयमा विभिन्न तथ्यहरु सार्वजनिक गर्दै परिक्षण अघि बढाएका छन् ।

चिनियाँ अनुसन्धानकर्ताहरु हालै एउटा नयाँ तथ्य सार्वजनिक गरेका छन् । उनीहरुले निको हुन लागेका पुरुषको विर्यमा भाइरस रहिरहन सक्ने तथ्य फेला पारेको दावी गरेका छन् ।

बेइजिङस्थित चिनियाँ जनमुक्ती सेना जनरल अस्पतालका डियानजेङ लिले बिरामीको विर्यमा सार्स–कोभ–२ देखिन सक्ने भेटिएको र निको हुँदै गरेका बिरामीमा पनि यस्तो देखिन सक्ने बताएका छन् ।

जनवरी र फेब्रुअरीमा साङक्यु नगरीय अस्पतालमा उपचार गराएका ३८ जना पूरुषहरुमा अनुसन्धानकर्ताले अध्ययन गरेका थिए । त्यसमध्ये १६ प्रतिशतको वीर्यमा कोरोनाको जीवाणु देखिएको थियो । तीमध्ये एक चौथाई गम्भीर अवस्था र झन्डै ९ प्रतिशत निको हुने अवस्थामा थिए ।

यस अध्ययन अनुसार यौन सम्पर्क मार्फत पनि कोरोना सर्नसक्ने सम्भावना हुन्छ । यसअघि इबोला र जिका भाइरस विर्यसम्म फैलिएको पाइएको थियो । यद्यपि यसबारेमा थप अनुसन्धान भइरहेकाले विर्यबाट कोरोना फैलने विषय भने अझै पूर्ण रुपमा पुष्टि हुन बाँकी छ ।
यसअघि महिलाको यौन हर्माेनमा हुने एस्ट्रोजेनका कारण रोग प्रतिरोधक प्राणाली सक्रिय हुने तथ्य बाहिरिएको थियो ।

अहिले कोरोनाले महिला भन्दा पुरुष बढी संक्रमित हुनुका पछाडि यसलाई पनि एउटा मुख्य कारण मानिएको छ । त्यसो त न्यूयोर्कको लङ आइल्यान्डस्थित स्टोनी ब्रुक युनिभर्सिटी, स्कुल अफ मेडिसिनले ११० जना कोरोना संक्रमित पुरुष बिरामीलाई महिलाको यो हर्माेन दिएर परिक्षण थालिएको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको यो भाइरसले विश्वभर २ लाख ८० हजार भन्दा बढीको मृत्यु भइसकेको छ । विश्वभर कोरोना भाइरसको संक्रमित ४१ लाख नाघेको छ । ति मध्ये १४ लाख भन्दा बढी पूर्णरुपमा निको भएका छन् ।

Logo