पिसिआर परीक्षणको दायरा बढाइँदै, ५० हजार पिसिआर किट मौज्दात

पिसिआर परीक्षणको दायरा बढाइँदै, ५० हजार पिसिआर किट मौज्दात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन पिसिआर परीक्षणको दायरालाई थप विस्तार गर्दै लैजाने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर परीक्षणका लागि हाल मौज्दातमा कूल ५० हजार पिसिआर किट रहेकाले दायरा विस्तार गर्न लागिएको हो ।

द्रूत परीक्षणलाई नियमितरुपमा अगाडि बढाइरहेको भए पनि पिसिआरका माध्यमबाट वस्तुगत विवरण प्राप्त हुने भएकाले दायरा विस्तार गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

देशभर नै परीक्षणको दायरा बढाइएको उल्लेख गर्दै मन्त्रालयले कुनै पनि स्थानमा परीक्षणमा कुनै समस्या नहोस् भन्ने तर्फ ध्यान दिइएको उल्लेख गरेको छ । पिसिआर परीक्षणको दायरा नबढेको भन्ने जस्ता गुनासा सुनिन थालेपछि सरकारले थप पहल गरेको हो ।

सरकारले प्रदेश नं २ का रौतहट, बारा र पर्सा तथा प्रदेश नं ५ का जिल्लामा थप परीक्षण गर्ने गरी आवश्यक व्यवस्था मिलाइएको जनाएको छ । ती जिल्लामा नमूना सङ्कलनका लागि मन्त्रालयले टोली परिचालन भइसकेको जनाएको छ । सो प्रदेशमा हालसम्म पछिल्ला तीन दिनमा ४०० पिसिआर परीक्षण गरिएको उल्लेख गर्दै प्रवक्ता डा देवकोटाले लगातार परीक्षण गरिने बताए ।

प्रदेश नं. ५ मा मात्रै कूल सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । यस्तै प्रदेश नं १ मा ३४, प्रदेश नं २ मा ३१, वाग्मती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा पाँच सङ्क्रमित छन् ।

देशभर कूल ११० जना कोरोनाबाट सङ्क्रमित भएको तथ्याङ्क पेश गर्दै प्रवक्ता देवकोटाले हालसम्म ३१ जना अस्पतालबाट घर फर्केका र ७९ जना उपचारका क्रममा रहेका छन् । त्यसमा पुरुष ७८ र महिला ३२ रहेका छन् । शुक्रबार कैलालीको सेती अस्पतालबाट एक महिला ३५ दिन पछि घर फर्केको समेत मन्त्रालयलले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार वीरगञ्जमा २७, विराटनगरमा २०, रुपन्देहीमा छ, नेपालगन्जमा २४ र भरतपुरमा एक जना गरी ७८ जनाको उपचार भइरहेको छ । उपचारमा रहेका सङ्क्रमितको अवस्था राम्रो रहेको छ ।

५५ हजार बढीको परीक्षण
हालसम्म कूल ५५ हजार ९३० जनाको आरटिडी (द्रूत परीक्षण) गरिएको छ । यस्तै पिसिआर प्रणालीबाट परीक्षण गरिएको सङ्ख्या १६ हजार ३०९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै एक हजार ७४२ जनाको आरटिडी परीक्षण गरिएको छ । प्रदेश नं १ मा सात हजार ५५, प्रदेश नं २ मा पाँच हजार ८९०, वाग्मती प्रदेशमा नौ हजार १०५, गण्डकी प्रदेशमा छ हजार ३७७, प्रदेश नं ५ मा छ हजार ६३८, कर्णाली प्रदेशमा छ हजार १७४ र सुदूरपश्चिम प्रदेशमा कूल १४ हजार ६९१ को परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार हालसम्म कूल १४ हजार ५९२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यसमा प्रदेश नं १ मा एक हजार ४८६, प्रदेश नं २ मा एक हजार ३५५, वाग्मती प्रदेशमा २९४, गण्डकी प्रदेशमा ४६३, प्रदेश नं ५ मा पाँच हजार २२८, कर्णाली प्रदेशमा दुई हजार ४५५ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ३५१ क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै आइसोलेशनमा १४३ रहेका छन् । त्यसमा काठमाडौँ उपत्यकामा दुई र उपत्यका बाहिर १४१ रहेका छन् । हालसम्म मोबाइल एप र बेव पेजमार्फत गुनासो गर्नेको सङ्ख्या ३४ हजार ५१ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै २५४ गुनासो आएकामा त्यसलाई सम्बोधन गरिएको छ । तीमध्ये चार जना रेड जोनमा परेका छन् । हालसम्म रेड जोनमा पर्नेको सङ्ख्या ३४० पुगेको छ ।

थप सामाजिक दूरी कायम गर्न आग्रह

सरकारले आइतबारदेखि थप अत्यावश्यक सेवासमेत सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिँदै प्रवक्ता डा देवकोटाले सामाजिक दुरी कायम गर्ने विषयलाई प्रमुख प्राथमिकतामा राख्न आग्रह गरेका छन् । आइतबारदेखि बैंक तथा वित्तीय संस्था, बीमालगायतका अन्य सेवासमेत सञ्चालनमा आउने भएका छन् । यस्तै मङ्गलबारदेखि शेयर बजारसमेत खुल्ने भएको छ ।

यो अवस्थालाई मध्यनजर गरेर सामाजिक दुरी कायम गर्न, घर तथा कार्यालय जाँदा साबुन पानीले हात धुने तथा स्यानिटाइजरको प्रयोग गर्न उनले आग्रह गरे । “सामाजिक दुरी कायम गर्दै मास्क लगाउन तथा अन्य स्वास्थ्य सुरक्षाको उपायसमेत अपनाउन अनुरोध छ”, डा देवकोटाले भने । यस्तै कार्यालयमा भौतिक दुरी कायम गरी आवश्यक सेवा प्रवाह गर्न र आधिकारिक सूचनाको पहुँचमा रहनसमेत उनले सबैमा अनुरोध गरे।रासस

Logo