उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलन गर्ने तयारी

उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलन गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
सरकारले कोरोना भाइरसका सङ्क्रमित सङ्ख्याको आधारमा हटस्पटका रुपमा देखिएका उदयपुर, नेपालगञ्ज र वीरगञ्जमा थप नमूना सङ्कलनका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनासहितको टोली परिचालन गरेको छ ।

कोरोनाको हटस्पटको रुपमा देखिएका क्षेत्र उदयपुरमा कम्तीमा ५००, वीरगञ्ज र नेपालगञ्ज कम्तीमा एक/एक हजार जनाको नमूना सङ्कलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सरकारले हालसम्म १४ हजार ५०९ व्यक्तिमा रियल टाइम पोलिमरेज चेञ्ज रियाक्सन (पिसिआर) विधिबाट कोभिड–१९ को परिक्षण गरेको छ । र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) विधिबाट ५४ हजार ९३ नमूना परीक्षण गरेको छ । गत २४ घण्टामा थप एक हजार ४५१ वटा परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १७ हजार ३७२ रहेको छ । अहिलेसम्म आइसोलेशनमा १३३ जना रहेका छन् । ती मध्ये काठमाडौँ उपत्यकामा तीन जना छन् भने उपत्यका बाहिर १३० जना रहेका छन् । स्वमूल्याङ्नका लागि फारम भर्नेको सङ्ख्या ३३ हजार ५२२ पुगेको छ । जसमा रेड जोनमा हालसम्म ३३५ जना रहेका छन् । हालसम्म कूल १०१ जना कोभिड–१९ बाट सङ्क्रमित रहेका छन् । जसमा ७३ पुरुष र २८ जना महिला रहेका छन् । सबैको स्वास्थ्य स्थिति सामान्य रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए ।रासस

Logo