नेपालगञ्जका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

नेपालगञ्जका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य

केन्द्रबिन्दु
0
Shares

बाँके ।

बाँकेको नेपालगञ्जमा कोरोना संक्रमण देखिएका २३ संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनीहरुलाई वार्डमा चिकित्सकको निगरानीमा राखिएको छ ।

बाँकेमा पहिलोपटक एक ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखापरेपछि स्थानीय प्रशासनले पिसिआर पद्धतिबाट परीक्षण शुरु गरेपछि आइतबार १६ र मंगलबार थप सात जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । पहिलो पटक भेटिएका संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब परीक्षण गर्दा एकै वडाका २२ जनामा संक्रमण भेटिएको थियो ।

५६ जनाको स्वाब सङ्कलन
नेपालगञ्जमा कोरोना सङ्क्रमितको सम्पर्कमा रहेका ५६ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितको सूचनाका आधारमा उनीहरुको सम्पर्कमा रहेका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ का पाँच स्थानबाट गए रातिसम्म तिनको स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकलपर्सन श्रेष्ठले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्ठन र प्रदेशको सामाजिक विकास मन्त्रालयको टोलीको प्रत्यक्ष निगरानीमा स्वाब सङ्कलन शुरु गरिएको श्रेष्ठले जानकारी दिए।

यसैबीच पहिलोपटक कोरोना भाइरस पोजेटिभ भेटिएका नेपालगञ्ज–७ का ६० वर्षीय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पहिलो पटक सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई पछ्याउँदै परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाब सङ्कलन गरिएकामा २२ जनामा कोरोना पोजेटिभ पुष्टि हुँदा घरपरिवारका सदस्यको नतिजा भने नेगेटिभ आएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए। सङ्क्रमितका श्रीमती, बुहारीसहित चार दाजुभाइको रिपोर्ट नेगेटिभ आएको हो । परिवारको रिपोर्ट नेगेटिभ आएपछि टोलबासीले उनीहरुलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।रासस

Logo