नेपालमा कोरोनाको परिक्षण द्रुतगतिमा नभएको चिकित्सकहरुको भनाइ

नेपालमा कोरोनाको परिक्षण द्रुतगतिमा नभएको चिकित्सकहरुको भनाइ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपालमा कोरोना भाइरस संक्रमणको परिक्षण द्रुतगतिमा हुन नसकेको चिकित्सकहरुले बताएका छन् । कोरोना भाइरसको परिक्षण गर्न सरकारसँग प्रर्याप्त सामग्री नभएका कारण परिक्षणमा विलम्व भएको चिकित्सकहरुको बुझाइ छ ।

सरकारले स्वास्थ्य सम्बन्धी सामग्री ल्याएपनि मुलुकका हरेक कुना कुनाबाट परिक्षण गर्न सकिरहेको छैन । ह्याम्स अस्पतालका कोरोना इन्फेक्शन विशेषज्ञ डा.अनुप सुवेदीले कोरोना परिक्षण गर्न पिसिआर तथा स्वाबहरुको कमी भएको बताए । ‘मुलुकका कतिपय ठाउँमा स्वाब, पिसिआरको अभाव छ ।’ उनले भने । त्यस्तै, कोरोना परिक्षणका लागि पर्याप्त मात्रामा स्वास्थ्य सामाग्री नभएका कारण प्रभावकारीरुपमा परिक्षण हुन नसकेको डा. सुवेदीले बताए । उनले नमुना संकलन निकै कम मात्रामा भएकाले छिटो छिटो परिक्षण गर्न नसकिएको बताए ।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व प्रमुख डा.बाबुराम मरासिनीले पिसिआरको माध्यमबाट हुने स्वास्थ्य परिक्षण प्रभावकारी नभएको बताए । ‘पिसिआरको टेष्ट व्यापकरुपमा हुनु पथ्र्यो, त्यो भएन ।’मरासिनीले भने । अमेरिका लगायतका मुलुकहरुमा दैनिक १ लाखको हाराहारीमा पिसिआर प्रविधीबाट टेष्ट भइरहेको सन्दर्भमा नेपालमा निकै सुस्त भएको उनले बताए ।

हालसम्म मसुलुकभरी १४ वटा मात्रै कोरोना भाइरस परिक्षण गर्ने प्रयोगशालाहरु रहेका छन् । विराटनगर, धरान, धनगढी, पोखरा, काठमाडौँ लगायतका स्थानमा ती प्रयोगशाला रहेका छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गइरहेको सन्र्दभमा मानिसहरूले आफ्नो आचरणलाई लामो समयको लागि सुधार गर्नुपर्ने आवश्यकता भएको उनले बताए । थाहा नपाइएका एउटा मात्रै संक्रमणका घटनाले जतिखेर पनि ठूलो सङ्कट सिर्जना गर्नसक्ने भन्दै सम्पर्क व्यक्तिको पहिचान तथा जाँचका लागि जनशक्ति तथा पूर्वाधार विकासमा जोड दिनुपर्ने उनले बताए ।

सोमबार प्रेस ब्रिफ्रिङमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभर १३ हजार ६ सय ४० पीसीआर परीक्षण गरिएको र ५० हजार ८ सय ४५ आरडीटि परीक्षण गरिएको जानकारी दिए । नेपालमा पहिलो पटक गत माघ १० गते चीनबाट फर्किएका ३२ वर्षिय नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Logo