‘कोरोनाले नर्सिङ शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने सिकायो’

‘कोरोनाले नर्सिङ शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने सिकायो’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
महामारीका रुपमा फैलिइरहेको कोभिड–१९ विश्वकै लागि नयाँ खालको संक्रमण हो । सजिलै मानिसमा सर्ने यो रोगको खास औषधि पत्ता लागेको छैन । लक्षण अनुसारको उपचार गर्ने विधि नै उपचारको महत्वपूर्ण विधि भएको चिकित्सकको भनाइ छ ।

विश्वका २१५ भन्दा बढी देशमा फैलिइसकेको उक्त रोग फैलिन नदिन सबैभन्दा महत्वपूर्ण भनेको सामाजिक दूरी काम गर्नु नै हो । सङ्क्रमण फैलिन शुरु गरेपछि भने उपचारविधिलाई प्रभावकारी बनाउनुपर्छ । रोगको उपचारमा अग्रपङ्क्तिमा रहने स्वास्थ्यकर्मी नै हो । स्वास्थ्यकर्मीमा पनि नर्सको भूमिका महत्वपूर्ण हुन्छ ।

चिकित्सकले स्वास्थ्य जाँच गरेपछि उनीहरुलाई रेखदेख गर्ने, स्याहार गर्नेदेखि औषधि पानीको व्यवस्थापन र नियमित अन्य परीक्षणको काम नर्सले नै गर्नुपर्छ । नेपाल नर्सिङ सङ्घका अध्यक्ष प्राध्यापक मनकुमारी राई अहिलेको कोरोनाको कहरले नर्सिङ शिक्षालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउनुपर्छ भन्ने पाठ सिकाएको बताउँछिन् ।

शुरुआती चरणमा नेपाली नर्समा धेरै समस्या नभएको होइन । उनीहरु अन्यौलमा थिए । तर विस्तारै अभ्यस्त हुँदै नर्स लगायत स्वास्थ्यकर्मीले ठूलो साहसका साथ काम गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको उपचारमा सक्रिय भएर लागेकामा आम स्वास्थ्यकर्मीको प्रशंसासमेत गरेका थिए ।

कोभिड–१९ कै कारण यस वर्षलाई विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले ‘नर्स तथा स्वास्थ्य स्वयंसेवीका वर्ष’ घोषणा गरेका सन्दर्भमा नर्स र स्वयंसेविकाको भूमिका अझै बढेर गएको छ । “यो बेलाको कोरोना कहरले नर्सिङ शिक्षालाई प्रयोगात्मकरुपमा लैजानुपर्छ, यो अहिलेको आवश्यकता हो भन्ने पाठ सिकाएको छ”, राईले भनिन्, “अबको स्वास्थ्य शिक्षा कस्तो बनाउने भन्नेमा पनि एउटा मार्गनिर्देश गरेको छ ।”

वर्तमान विषम परिस्थितिमा स्वास्थ्यकर्मीले जोखिमका साथ अस्पतालमा काम गरिरहेका छन् । नर्सिङ शिक्षालाई कसरी व्यावहारिक बनाउने भन्नेमा यो पटक केही समस्या देखियो । अध्यक्ष राईले अब जथाभावी संस्था खोलेर उत्पादन मात्रै गर्नुभन्दा गुणस्तर मापनमा ध्यान दिनुपर्ने बताइन् ।

कोभिड–१९ को शुरुआती चरणमा आवश्यक व्यक्तिगत सुरक्षा सामग्रीको समेत समस्या देखिएको थियो । कस्तो सामग्री आवश्यक हुने, कस्तो प्रयोग हुने भन्नेमा पनि समस्या आयो । कोरोनाको सङ्क्रमणले स्वास्थ्य सामग्रीको गुणस्तरमा ध्यान दिनुपर्ने र त्यसको व्यवस्था पहिले नै गर्नुपर्ने कुरासमेत सिकाएको छ । यस विषयमा राईले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकषर्णसमेत गराइन् ।

“फ्रन्टलाइनमा नर्स, डाक्टर वा जो काम गरिरहनुभएको छ, गाह्रो समयमा खटिरहेकै हो, स्वास्थ्यकर्मीको हिम्मत जुटेकामा सराहना गर्नैपर्छ, उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता छ”, राईले भनिन् । उनले घर, गृहस्थी हेर्ने र कोरोना सङ्क्रमण भएका बिरामीको स्याहार गर्नुपर्ने दोहोरो काम भएकाले पनि नर्सका लागि विशेष ख्याल गर्नुपर्ने, उनीहरुको स्वास्थ्य जाँच गराउनुपर्ने आवश्यकता औँल्याइन् । अहिले दाताले दिएको पिपिई कस्तो छ । सङ्क्रमण रोक्न सक्छ कि छैन भनेर गुणस्तर नाप्ने संयन्त्र आवश्यक भएको उनले बताइन् ।

समन्वय समूह बनाएर व्यवस्थापनमा लाग्नु पर्ने आवश्यकता अहिलेको अवस्थाले देखाएको भन्दै उनले सरकारलाई सुझाव दिइन् । नर्स, डाक्टर, सुरक्षाकर्मी, सरसफाइकर्मी सबैलाई उपयुक्त सेवा दिनसके अझै उच्च मनोबलका साथ काम गर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराइन् । उनले कोभिड–१९ रोकथामका लागि सबै क्षेत्रमा काम गर्ने नर्स, चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको कामको प्रशंसासमेत गरिन् । मन्त्रालयका प्रवक्ता डा देवकोटाले कोभिड–१९ को रोकथाममा नर्स तथा स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण हुने बताए ।रासस

Logo