रगत अभाव हुन नदिन आकस्मिक रक्तदान, एकै दिन २८४ युनिट रगत सङ्कलन

रगत अभाव हुन नदिन आकस्मिक रक्तदान, एकै दिन २८४ युनिट रगत सङ्कलन

केन्द्रबिन्दु
0
Shares

कास्की ।

पोखरामा शनिबार एकै दिन २८४ युनिट रगत सङ्कलन गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

पोखरा महानगरपालिका–२० भलाममा अवस्थित श्रृङ्खला क्लब र एकता क्लब तथा प्रोग्रेसिभ इञ्जिनियरिङ एशोसिएसन (पिन) गण्डकीले छुट्टाछुट्टै रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । लकडाउनका कारणले विभिन्न सङ्घसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरिएकामा दुवै कार्यक्रमबाट गरी २८४ युनिट रगत सङ्कलन भएको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।

पिनको रक्तदान कार्यक्रममा ९३ तथा भलाममा १९१ युनिट रगत सङ्कलन भएको थियो । रक्तदानका कार्यक्रम नभएका अवस्थामा जिल्ला प्रशासनको अनुमतिमा सामाजिक दूरी कायम गरेर कार्यक्रम आयोजना गरिएको पिनले आयोजना गरेको कार्यक्रमका संयोजक सुदीप कोइरालाले जानकारी दिए ।

पिनले शुक्रबार तनहुँको खैरेनीटार तथा शनिबार नवलपरासीमा समेत कार्यक्रम आयोजना गरिएको जनाएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा प्रदेश अन्तर्गतका ११ वटै जिल्लाबाट बिरामी उपचारका लागि आउने भएकाले यहाँ रगतको माग अत्यधिक हुने गर्दछ । पोखरामा दैनिक ७० युनिट रगत माग हुने गरेको बताइन्छ । रक्तसञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले हाल रगत अभाव नभए पनि पोखरामा नियमित रक्तदानका कार्यक्रम हुनुपर्ने बताए ।

उनले भने, “कोरोनाको त्रासले विभिन्न सङ्घसंस्थाको वार्षिक कार्यक्रम स्थगन नगर्नुहोस् भनेका छौँ, आवश्यकता हेरेर रक्तदान गरे सहजरुपमा मागको पूर्ति हुने अवस्था छ, कार्यक्रम आयोजना गर्दा केन्द्रसँग समन्वय गर्न आह्वान गरेका छौँ ।”रासस

Logo