सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै

सेनाले चीनबाट स्वास्थ्य सामग्री ल्याउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेपाली सेनाले कोभिड–१९ का लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन आगामी मङ्गलबार र बुधबार नेपाल वायु सेवा निममका दुई बाइडबडी जहाज चीनको ग्वान्जाओ पठाउने तयारी गरेको छ ।

स्वास्थ्य सामग्री खरिदका लागि सेनाले द्रुतगतिमा प्रक्रिया अगाडि बढाएको थियो । सरकारको निर्देशनमा सेनाले चीन र भारतबाट ती सामग्री खरिदका लागि सरकार–सरकार (जिटुजी) मार्फत प्रक्रिया अगाडि बढाएको हो । नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले निगमको जहाजले झण्डै ३० टन स्वास्थ्य सामग्री ल्याउने जानकारी दिए। तत्कालका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री हवाई मार्ग र अन्य सामग्री स्थलमार्गबाट ल्याउने तयारी गरिएको जनाइएको छ ।

चीनमा मजदूर दिवस लगायतका सार्वजनिक बिदा भएकाले मङ्गलबार मात्रै निगमको जहाज पठाउने तयारी भएको हो । “हामीले बिदा भए पनि आवश्यक प्रक्रिया मिलाएर सामान ल्याउने वातावरण बनाइदिन आग्रह गरेका छौँ”, उनले भने ।

हवाईमार्गबाट कूल ३० टन सामान आयात गर्न सकिए बाँकी रहेका ३१२ टन सामान भने स्थलमार्ग हुँदै नेपाल–चीन सीमाना तातोपानी ल्याइनेछ । ग्वान्जाओबाट हिँडेको सामान सात दिनमा तातोपानी आइपुग्नेछ । सेनाले चिनियाँ पक्षसँग खरिद सम्झौता सम्पन्न भइ रकमसमेत भुक्तानी भइसकेकाले खरिद प्रक्रिया टङ्गो लगाएको थियो ।

सेनाले १० दिन पहिले नै नेपाल राष्ट्र बैंकमार्फत आवश्यक रकम चीन पठाएको थियो । ढुवानीका लागि लाग्ने रकमका सम्बन्धमा रक्षा मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा आग्रह गरिएको थियो । अत्यावश्यक सामान खरिदका लागि सेनाले एक करोड ८४ लाख ४१ हजार ७०६.३५ अमेरिकी डलर भुक्तानी गरिसकेको छ । त्यसमा ढुवानी भाडा भने जोडिएको थिएन । नेपालले भुक्तानी गरेको रकम पाइसकेको पनि चिनियाँ पक्षले जानकारी दिइसकेको छ ।

चीनबाट ३४२ टन स्वास्थ्य सामग्री जिटुजी प्रक्रियाबाट खरिद गर्न लागिएको हो । कूल ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गर्न लागिएको हो । स्वास्थ्य सामग्री खरिदका लागि चीन सरकारको स्वामित्वमा रहेको चाइना साइनोफार्म इन्टरनेशनल कर्पोरेशनसँग सम्झौता भएको हो ।रासस

Logo