नेपालमा हालसम्म ३३ हजारको कोरोना परीक्षण

नेपालमा हालसम्म ३३ हजारको कोरोना परीक्षण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ रोगबारे हालसम्म कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको छ । पिसीआर विधिबाट आठ हजार ४१४ र र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) बाट २५ हजार १४८ गरी कूल ३३ हजार ५६२ जनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर ३२४ वटा पिसीआर परीक्षण भएका छन् भने आरडिटी परीक्षण गराउनेको सङ्ख्या तीन हजार १९ पुगेको छ । मन्त्रालयले सोमबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३१ पुगेको जानकारी दिए । तीमध्ये चार जना निको भएर घर फर्किसकेका छन् भने बाँकी २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य भएको र उपचारको क्रम जारी रहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता देवकोटाका अनुसार, आरडिटी सबै जिल्लामा शुरु भइसकेको छ, प्रदेश नं १ मा हालसम्म दुई हजार ३४९, प्रदेश नं २ मा तीन हजार २३८, वाग्मती प्रदेशमा चार हजार ६७६, गण्डकी प्रदेशमा तीन हजार ७५१, प्रदेश नं ५ मा दुई हजार ३२४, कर्णाली प्रदेशमा तीन हजार २३२ र सुदूरपश्चिम प्रदेशमा पाँच हजार ५७८ वटा आरडिटी परीक्षण भइसकेको छ ।

क्वारेनटाइनमा बस्ने व्यक्तिको सङ्ख्या पाँच हजार ९३६ छ । आइसोलेशनमा रहेका बिरामीको सङ्ख्या १११ छ । यसमध्ये उपत्यकाभित्र चार जना छन् भने उपत्यका बाहिर १०७ जना छन् । मन्त्रालयले सञ्चालन गरेको दुई वटा कल सेन्टर (१११५ र ११३३) मा गत २४ घण्टामा दुई २८९ वटा कल प्राप्त भएका छन् । मन्त्रालयले सबै कलको सम्बोधन गरेको छ ।

गण्डकी प्रदेशबाट १०९२ र सुदूरपश्चिम प्रदेशबाट ११४८ नं.मा निःशुल्क कल सेन्टर शुरु भएको छ । त्यसमा कोरोनाबारे आफ्नो जिज्ञासा राख्न सकिन्छ । हालसम्म कूल रेडजोनमा हुनेको सङ्ख्या २६३ पुगेको छ । रेडजोनमा पर्ने व्यक्तिको नमूना परीक्षण गर्ने र त्यसको अनुगमनका लागि सम्बन्धित स्थानीय तहमा खबर गर्ने कार्य भइरहेको छ ।रासस

Logo