कोरोना जितेकी वृद्धा भन्छिन्- ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ’

कोरोना जितेकी वृद्धा भन्छिन्- ‘औषधिभन्दा ठूलो आत्मबल रहेछ’

केन्द्रबिन्दु
0
Shares

वाग्लुङ ।

कोरोना सङ्क्रमणबाट निको भएकी वाग्लुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया वृद्धा मनकुमारी पौडेलले सबैभन्दा ठूलो कुरा आत्मबल रहेको अनुभव सुनाएकी छिन् । तेस्रो र चौथो पटकको स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएर घर पठाउने क्रममा उनले बुढेसकालमा नयाँ रोगले समाते पनि आफूले रोग जित्छु भन्ने हिम्मत अनुसार अस्पतालमा बसेको बताइन् ।

“सबैभन्दा ठूलो कुरा हिम्मत र सकारात्मक सोच रहेछ”, मनकुमारीले भनिन् “औषधिभन्दा ठूलो आत्मबल रहेछ, जसकारण औषधि नै नभएको कोरोनालाई जित्न सफल भएकी छु ।” नेपालमा छैठौं कोरोना सङ्क्रमितका रुपमा रहेकी मनकुमारी नेपालमा कोरोना जित्ने तेस्रो व्यक्तिका रुपमा रहेकी छिन् । उनले कोरोना लाग्दैमा नआत्तिन अन्य सङ्क्रमितलाई समेत सुझाएकी छिन् । उनले तातोपानी खान र सरसफाइमा ध्यान दिएर अलग्गै बस्दा कोरोनाबाट बच्न सकिने अनुभव सुनाइन् ।

“दमको रोगी भएका कारण कोरोना जित्न मुस्किल पर्छ कि भन्ने थियो, हिम्मत हारिन आत्मबल बढाउँदै लगें अन्त्यमा कोरोनालाई जितेर घर फर्किएकी छु”, उनले भनिन् । मनकुमारीले १५ वर्षदेखि दमको औषधि सेवन गर्दै आएकी छिन् । उनले अन्य सङ्क्रमितलाई समेत धैर्य गरेर अस्पतालमा बस्न आग्रह गरिन् । आफूले घरमा समेत सरसफाइका साथ परिवारबाट अलग्गै बस्नाले अन्य सदस्यलाई सर्न नपाएको भन्दै पूर्वसचेतनासमेत अपनाउन पर्ने उनको सल्लाह छ ।

धौलागिरि अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेकी उनको भर्ना भएको १५ औँ दिन बिहीबार तेस्रो पटक पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा परीक्षण स्वाबको रिजल्ट नेगेटिभ आएको र पुनःभोलिपल्ट शुक्रबार पनि स्वाब परीक्षणका लागि पठाइएकामा समेत रिपोर्ट नेगेटिभ आएका कारण बिरामीलाई कोरोना निको भएको धौलागिरि अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बि पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अस्पतालमा एक जना युवती २० दिनदेखि कोरोना सङ्क्रमितका रुपमा उपचाररत छिन् । वृद्धामा शुरुकै दिनदेखि कोरोनाको लक्षण भने देखिएको थिएन । बेल्जियमबाट दोहा हुँदै कतार एयरको क्यूआर ६५२ मा गत चैत ४ गते नेपाल आएकी वृद्धालाई चैत २० गते कोरोना पुष्टि भएको थियो ।रासस

Logo