चैत यता विदेशबाट फर्किएका सबै काभ्रेलीमा कोरोना नेगेटिभ

चैत यता विदेशबाट फर्किएका सबै काभ्रेलीमा कोरोना नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।
विभिन्न मुलुकबाट घर फर्किएका काभ्रेलीमा कोरोना भाइरस सङ्क्रमण नेगेटिभ देखिएको छ ।

गत चैत महिना यता विदेशबाट घर फर्किएका सबैको  र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा नतिजा नेगेटिभ देखिएको हो । जिल्लास्थित स्थानीय तह स्वास्थ्य शाखाद्वारा विदेशबाट आएकाको द्रुतगतिमा गरिएको कोरोना भाइरस परीक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । चैत महिना यता घर फर्किएका २५१ जनाको गरिएको आरडिटीमा सबैको नतिजा नेगेटिभ आएको कार्यालय प्रमुख डा नरेन्द्र झाले बताए । उनले भने, “विदेशबाट फर्कने सबैको परीक्षण सकियो, कुनै व्यक्तिमा पनि कोरोना भाइरस सङ्क्रमण नभएको पुष्टि भएको छ ।”

डा झाका अनुसार विदेशबाट घर फर्किएकामध्ये आरडिटीमा दुई जनामा सङ्क्रमण शङ्का लागेकामा दोस्रो परीक्षण पोलिमरेज चेनज रियाक्सन (पिसीआर) गर्दा नेगेटिभ देखिएको हो । स्वास्थ्य कार्यालयका अनुसार माघ महिना यता जिल्लामा ४५१ जना विदेशबाट घर फर्किएका छन् । तीमध्ये चैत महिनामा मात्रै २५१ जना विदेशबाट घर फर्किएको पाइएको हो । हाल चैत महिनामा मात्रै घर फर्किएकाको आरडिटी गरिएको छ । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्तामा आरडिटीका लागि काभ्रेमा ३०० किट उपलब्ध गराएको थियो ।

विदेशबाट फर्किएका आठ जनालाई मण्डनदेउपुर नगरपालिकास्थित क्यारेन्टाइनमा राखिएकामा उनीहरूको क्वारेन्टाइन बसाइँ अवधि सकिएपछि स्वास्थ्य परीक्षण गरेर एकान्तवास (होम क्वारेन्टाइन) पठाइएको थियो । अन्य स्थानीय तहमा विदेशबाट फर्किएकालाई स्थानीय तहका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक परीक्षण गरी होम क्वारेन्टाइनमै बसाइएको झाले बताए । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि यहाँका सबै स्थानीय तहले क्वारेन्टाइनको व्यवस्था गरेका थिए । सबै क्वारेन्टाइन कक्ष हाल रित्तिएको अवस्थामा छन् ।

स्थानीय तहले हालसम्म २८८ शैयाको क्वारेन्टाइनको व्यवस्थापन गरेका थिए । जसमध्ये धुलिखेल नपामा ६५, बनेपा नपामा ५०, पनौती नपामा १०, नमोबुद्ध नपामा १८, पाँचखाल नपामा ११ तथा रोशी गाउँपालिकामा १०, महाभारतमा ३५, भुम्लुमा ३०, बेथानचोकमा १०, तेमालमा चार र खानीखोला गाउँपालिकामा १५ शैयाको क्वारेन्टाइन व्यवस्थापन गरिएको थियो ।

धुलिखेल अस्पतालमा आठ र बनेपास्थित शिर मेमोरियल अस्पतालमा पाँच शैयाको आइसोलेसन कक्ष निर्माण गरिएको छ । काभ्रेमा छ नपा र सात गाउँपालिका छन् । जिल्लामा २७ देशबाट घर फर्किएको पाइएकोमा भारतपछि दुबइबाट फर्कनेको सङ्ख्या अधिक रहेको तथ्याङ्कले देखाएको छ ।
रासस

Logo