तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि एक सय बिरामी

तिलगङ्गा आँखा अस्पतालमा दैनिक ५० देखि एक सय बिरामी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

तिलगङ्गा आँखा अस्पतालको बहिरङ्ग विभाग र आकस्मिक कक्षमा गरी दैनिक ५० देखि १०० जनासम्म बिरामी आउने गरेका छन् ।

‘लकडाउन’ का समय भएकाले शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात् कुनै समस्या आइपरेका बिरामी आउने गरेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार बिरामी आउने गरेकामा अहिले झण्डै १०० जनासम्म आइरहेको अस्पतालले जनाएको छ । ती बिरामीमध्ये शल्यक्रिया गरेर ‘फलोअप’ आउने र आकस्मिक सेवा लिन आउने दुवै बराबर सङ्ख्यामा छन् । अस्पतालले सबै सेवा नियमित गरे पनि अत्यावश्यक बिरामीलाई मात्रै अस्पताल आउन भनिरहेको अस्पतालका निर्देशक डा रोहित सैँजुले बताए । उनले भने, “अहिले यातायातको पनि असहज भएकाले सामान्य जाँच गर्ने बिरामी त्यसपछि पनि आउन सक्नुहुन्छ ।”

‘लकडाउन’ पहिले दैनिक धेरै शल्यक्रिया हुने गरेकामा अहिले सातामा औसत सात÷आठ वटासम्म शल्यक्रिया भइरहेको अस्पतालले जनाएको छ । अस्पतालले आँखाका नियमित बिरामीलाई यहाँ कार्यरत चिकित्सकको टेलिफोन नम्बर उपलब्ध गराएको छ । बिरामीले आवश्यक पर्दा ती नम्बरमा चिकित्सकसँग सम्पर्क गरी आफ्नो समस्या राख्ने गरेका छन् । चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको उनले बताए । “उहाँहरुलाई फोनमा नै अस्पताल आउने कि त्यहीँ औषधि किनेर प्रयोग गर्ने भन्ने सल्लाह दिइन्छ ।” उनले भने ।

अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउन पर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ । बिरामीको ‘हिस्ट्री’ हेर्दा उसको समस्या जटिल भएमा मात्रै अस्पताल बोलाउने गरिएको निर्देशक डा सैँजुले बताए । उनले भने, “बिरामीलाई नै आउन सजिलो नभएकाले अति आवश्यक नभई नआउन भनिएको हो ।”

अस्पतालले बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरेको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाउने व्यवस्था मिलाइएको छ ।

अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्गलस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । त्यस्तै, अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन पनि कठीन नभएको उनले बताए ।रासस

Logo