प्रदेश नं १ समाचार : २८२ जनाको रिपोर्ट नेगेटिभ

प्रदेश नं १ समाचार : २८२ जनाको रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

प्रदेश नं. १ मा कोरोना भाइरसको आशङ्कामा थ्रोट स्वाबबाट रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण र रगतको नमूनाबाट र्‍यापिड डाइग्नोष्टिक टेस्ट (आरडिटी) गरिएका २८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

थ्रोट स्वाब अन्तर्गत सङ्कलित २११ नमूनाहरु परीक्षणका लागि कोशी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएकामा २२ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोरोना सूचना डेस्कले जनाएको छ

कोरोना भाइरस भए/नभएको छिटो पत्ता लगाउन गरिने र्‍यापिड डाइग्नोष्टिक टेस्ट अन्तर्गत शनिबार भएको नमूना सङ्कलन परीक्षणमा ९३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उक्त नमूना सङ्कलनमा जम्मा ७ महिला सहित ९३ जनाको परीक्षण गरिएको थियो ।

प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका क्वारेन्टाइनमा राखिएका नागरिकको आरडिटीको परीक्षणको नमूना ल्याउन स्वास्थ्यकर्मीहरु परिचालन गर्ने कार्य जारी छ । मोरङ, झापा र उदयपुरमा रहेका क्वारेन्टाइनमा बसेका नागरिकको नमूना सङ्कलन गरिएको छ । प्रदेशका क्वारेन्टाइनमा शनिबारसम्म ५९२ छन् भने आइसोलेसनमा १० जनालाई राखिएको छ । होम क्वारेन्टाइन अन्तर्गत तीन हजार ४१७ छन् । प्रदेशका विभिन्न स्थानमा रहेका आइसोलेसनबाट २२ र क्वारेन्टाइनबाट ५५ जना घर फर्केका छन् ।

प्रदेशमा परीक्षण किट्स आएसँगै परीक्षणको दायरा व्यापक हुने मुख्यमन्त्री शेरधन राईले जनाउँदै आएका छन् ।

नपाको कोषमा ७९ लाख जम्मा

झापाको मेचीनगर नगरपालिकाले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थापित कोषमा हालसम्म ७९ लाख ६६ हजार सङ्कलन गरेको छ । नगरपालिकाका लेखा प्रशासन शाखा प्रमुख पदमबहादुर कार्कीका अनुसार ७९ लाख ६६ हजार ४ सय ३० रुपैयाँ कोषमा जम्मा भएको छ ।

चैत २७ गतेसम्म कोषबाट ४८ लाख ४९ हजार ७७७ कोभिड–१९ रोकथाम तथा नियन्त्रण उपचारमा खर्च भएको छ । कोषमा चालु आर्थिक वर्ष ०७६/७७ को वजेटबाट २० लाख, नगरपालिकाको अन्य शीर्षकबाट रकमान्तर गरिएको ३५ लाख, १ नं. प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट १० लाख आएको थियो ।

विभिन्न राजनीतिक दल, अन्य सामाजिक संघसंस्था र व्यक्तिबाट १४ लाख ६६ हजार ४३० नगद रकम कोषमा जम्मा भएको कार्कीले जानकारी दिए ।

उल्लङ्घन गर्ने कारबाहीमा
झापामा लकडाउन उल्लङ्घन गर्ने ३०८ जनालाई प्रहरीले कारबाही गरेको छ । जिल्लाका मुख्य सहरहरु धुलाबारी, काँकरभिट्टा, दमक, विर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढी लगायतका स्थानमा तीनदिनभित्रमा प्रहरीले ३०८ जनालाई कारबाही गरेको हो ।

लकडाउनको अवज्ञा गर्दै सडकमा अनावश्यक रुपमा निस्कनेलाई प्रहरीले तयार गरेको लकडाउन सेलमा दुई घण्टासम्म उभ्याएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।रासस

Logo