टेकु अस्पताल भन्छ-‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’

टेकु अस्पताल भन्छ-‘केही दिनमै डिस्चार्ज हुँदैछन् कोभिड सङ्क्रमित’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन कक्षको उपचारमा रहेका कोभिड–१९ का दुई सङ्क्रमित व्यक्ति केही दिनभित्रै अस्पतालबाट डिस्चार्ज हुँदैछन् । कोभिड–१९ सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको स्वास्थ्य परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए ।

उनले भने “अस्पतालमा उपचारको क्रममा रहेका कोभिड सङ्क्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुई दिनभित्र अन्तिम रिपोर्ट आउनेछ, त्यो रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिनेछ ।” टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यी मध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नु पर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

निर्देशक डा राजभण्डारीका अनुसार विगतका तुलनामा पछिल्ला दिनमा अस्पतालको सेवामा सहजता आएको छ । जनशक्ति तथा उपकरणको कमी छैन । कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको र लकडाउनका कारण पनि उल्लेख्य सङ्ख्यामा बिरामी नआएको उनको भनाइ छ । “अस्पतालमा अहिले पहिलाभन्दा बिरामीको चाप कम छ । क्षयरोगलगायत अन्य सरुवा रोगका बिरामीलाई अन्यत्रै सिफारिस गरिएको हुनाले कोभिडको उपचारमा सहजता आएको छ”, निर्देशक डा. राभण्डारीले भने ।

यसैबीच अस्पतालले उपलब्ध गराउँदै आएको रेबिजको भ्याक्सिन भने नियमित भइरहेको छ । अहिले दैनिक ७० जनासम्म रेबिजको सुई लगाउन अस्पताल आउने गरेको अस्पतालका निर्देशक राजभण्डारीले जानकारी दिए । टेकु अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । अहिले २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य उच्चगतिमा भइरहेको पनि निर्देशक राजभण्डारीले बताए । ‘अक्सिजन प्लाण्ट’ सहितको सघन उपचारकक्ष तयार गरिँदैछ । अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गरी बिरामीको कपडा धुलाइका लागि अस्पतालमै वासिङ मेसिन, विद्युतका लागि ‘पावर ब्याकप’ तयार गरेको अस्पतालले जनाएको छ ।

विश्व माहामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखा परेपछि यो निकै चिन्ताको विषय बनेको थियो । तर, कोरोनाको सङ्क्रमण देखिएपछि नेपालमा पहिलोपटक टेकु अस्पतालमा भर्ना भएका बिरामी उपचारपछि निको भएर घर फर्किन लागेका छन् । यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट आएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखा परेको थियो ।

नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् ।रासस

Logo