स्वास्थ्य सामग्री प्रचलित कानून अनुसार नै खरिद गरिनेछ : नेपाली सेना

स्वास्थ्य सामग्री प्रचलित कानून अनुसार नै खरिद गरिनेछ : नेपाली सेना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाली सेनाले सरकारले प्रदान गरेको जिम्मेवारी अनुसार कोभिड–१९ को रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक पर्ने औषधि, उपकरण तथा अन्य सामग्री खरिद प्रक्रिया प्रचलित कानून बमोजिम हुने र गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पारेको छ ।

नेपाल सरकारले चैत १६ गते मन्त्रिपरिषदबाट कोरोना भाइरसको रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि आवश्यक सामग्री स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग समन्वय गरी आवश्यकता अनुसार रक्षा मन्त्रालयले नेपाली सेनामार्फत सरकार–सरकार (जिटुजी) विधिबाट खरिद गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय पश्चात् नेपाली सेनाले आवश्यक प्रक्रिया द्रुत गतिमा अगाडि बढाएको सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जानकारी दिए । नेपाली सेनाले आइतबार भिडियो कन्फरेन्समार्फत आयोजना गरेको पत्रकार अन्तरक्रियामा उनले भने “खरिद प्रक्रियाका दौरान विश्व स्वास्थ्य सङ्गठनद्वारा मान्यता प्राप्त सामग्री मात्र खरिद गरिने, मध्यस्तकर्ताको प्रयोग नगरिने, गुणस्तरमा कुनै सम्झौता नगरिने, प्रतिस्पर्धात्मक शैलीद्वारा मूल्य निर्धारण गरिने, सामग्री र यातायातको छुट्टाछुट्टै मूल्य निर्धारण गरिने र समय सीमाभित्र आपूर्तिकर्ताबाट आपूर्तिको व्यवस्था गरिने योजना रहेको छ ।”

सो प्रक्रियालाई सार्वजनिक खरीद ऐन तथा नियामावलीहरुको परिधिभित्र रही पारदर्शी र मितव्ययी ढङ्गबाट व्यवस्था गर्न सर्वपक्षीय औषधि, उपकरण तथा स्वास्थ्य सामग्री खरिद व्यवस्थापन समिति गठन गर्ने योजना अनुसार कार्य अघि बढाइएको प्रवक्ता पाण्डेले जानकारी दिए । खरिद गरिने सामग्रीहरुको गुणस्तर निर्धारणका लागि विभिन्न मन्त्रालयका पदाधिकारीसहितको गुणस्तर नियन्त्रण समितिको गठन गरी कार्य सम्पादन गर्ने योजना रहेको सेनाले जनाएको छ ।रासस

Logo