‘लकडाउन’ दैनिकीलाई सदुपयोग गरेर कोरोनालाई जित्ने तरिका

‘लकडाउन’ दैनिकीलाई सदुपयोग गरेर कोरोनालाई जित्ने तरिका

केन्द्रबिन्दु
0
Shares

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी रुपमा फैलिएको छ । विश्वका करिब २०० भन्दा बढी देशमा यसको संक्रमण फैलिइसकेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको पछिल्लो तथ्यांक अनुसार ५९ हजार २ सय ३ जनाको यसकै कारण ज्यान गइसकेको छ । त्यस्तैगरी ११ लाख १७ हजार ८ सय ६० जना संक्रमित भएका छन् भने २ लाख २८ हजार ९ सय ९० जना उपचार पछि घर फर्किसकेका छन् । नेपाल पनि यस भाइरसको संक्रमणबाट अछुतो रहन सकेको छैन । नेपालमा अहिलेसम्म ९ जनामा यस भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । जसमध्ये एक जना पूर्णरुपमा निको भएर घर फर्किसकेका छन् भने अन्य उपचाररत छन् ।

विश्व स्वास्थ्य संगठनले यस भाइरसलाई महामारीको संज्ञा दिँदै यसबाट बच्न उच्च सतर्कता अपनाउन विश्वभरका आमनागरिकलाई आव्हान गरिसकेको छ । विश्वका विभिन्न देशहरूले यस भाइरसको संक्रमण रोक्न विभिन्न उपायहरु अवलम्बन गर्दै आएका छन् । नेपालले पनि यसको संक्रमण फैलिन नदिन देशैभर एक साथ लकडाउन गर्ने घोषणा गरेको थियो । जुन अहिले कार्यान्वयनको चरणमा छ । सरकारको घोषणा पूर्ण पालना गर्दै लकडाउनको समयमा कसरी आफ्नो दैनिकीलाई निरन्तरता दिँदै कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ ? यस्ता छन् उपायहरु :

धेरै भन्दा धेरै समय घरमै बस्ने

नोवेल कोरोना भाइरसको संक्रमण भीडभाडमा बढी फैलिन सक्ने खतरा भएकाले सकेसम्म घरमा नै बस्ने । सरकारले पूर्ण रुपमा लकडाउन गरिसकेकाले स्कुल कलेज, विभिन्न सपिङ सेन्टर जस्ता बढी भीडभाड हुने स्थानहरु खुल्ला नरहेपनि दैनिक उपभोग्य वस्तु खरिद गर्ने किराना पसल, तरकारी पसल, दुध डेरी, ग्यास पसल पेट्रोल पम्प जस्ता ठाउँहरु अहिले पनि खुल्ला नै छन् । यस्ता बढी भीडभाड हुने ठाउँमा बढी संक्रमण फैलिने जोखिम भएकाले सकेसम्म कम जाने जानै परे माक्स, पन्जा लगाएर जाने । व्यक्ति व्यक्तिबीचको दूरी कम्तिमा ६ फिट कायम राख्ने ।

आफैंले आफ्नो स्वास्थ्य जाँच गर्ने

शरीरको तामक्रम बढी भएका, रुघाखोकी लागेका वा कुनै पनि कोरोना संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुले नियमित आफैंले स्वास्थ्य जाँच गर्नु पर्दछ । जसमा शरिरको तापक्रम नियमित जाँच गर्ने, कोरोना भाइरसको संक्रमण हुँदा देखा पर्ने लक्षणसँग मिल्ने खालका लक्षण आफूसँग मिल्छ कि मिल्दैन भनेर सतर्क हुने । रुघाखोकी लागेको, स्वास फेर्न असजिलो भएको भए परिवारका सदस्यसँगको सम्पर्कबाट पनि टाढा रहने र समस्या बढी नै भए नजिकैको अस्पताल जाने ।

सेल्फ क्वारेन्टाइनमा बस्ने

सेल्फ क्वारेन्टाइन भनेको कुनै पनि व्यक्तिले कोरोना भाइरसको संक्रमणबाट बच्न उच्च सतर्कता अपनाउन प्रयोग गर्ने एउटा तरिका हो । जुन तरिका अपनाउँदा अन्य व्यक्तिको सम्पर्कमा आउनु हुदैन । सेल्फ क्वारेन्टाइनमा बस्दा आफूलाई कोरोना भाइरसको संक्रमण नफैलिने र अरुलाई भएको भएपनि आफूलाई त्यसबाट सुरक्षित राख्न सकिन्छ । कोरोना भाइरस व्यक्तिगत सम्पर्कबाट सर्ने भएकाले सेल्फ क्वारेन्टाइनमा बस्दा बढी सुरक्षित हुन सकिन्छ ।

सेल्फ आइसोलेशनमा बस्ने

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखा परे वा स्वयंलाई कोरोना भाइरसको संक्रमण भएको शंका लागे सेल्फ आइसोलेशनमा बस्नु पर्दछ । सेल्फ आइसोलेशनमा बसेको समय परिवारका सदस्यसँग पनि सम्पर्कमा आउनु हुँदैन । सेल्फ आइसोलेशनमा बसेको व्यक्तिले छुट्टै बथरुम तथा सुत्ने कोठाको प्रयोग गर्नुपर्दछ । व्यक्तिगत सामग्रीहरु अरुलाई प्रयोग गर्न दिनु हुदैन ।

शारिरीक, मानसिक तन्दुरुस्तीमा ध्यान दिने

लकडाउनको समयमा अन्य समयको तुलनामा बढी समय उपलब्ध हुने भएकाले शारिरीक तथा मानसिक तन्दुरुस्तीमा ध्यान दिन सकिन्छ । शरिरको शारिरीक तथा मानसिक तन्दुरुस्ती बढाउन विभिन्न योगा, ध्यान जस्ता अभ्यास गर्न सकिन्छ । भने घरमा उपलब्ध हुने सामग्रीबाट बढी भन्दा बढी कसरत गर्न सकिन्छ । लकडाउनको समयमा जीम जस्ता शारिरीक अभ्यास गराउने ठाउँ पूर्ण रुपमा बन्द हुने हुँदा घरमा उपलब्ध हुने सामग्रीबाट ती अभ्यास गर्न कोशिस गर्ने ।

घरमा नै कसरत गर्ने

लकडाउनको समयमा जीम हाउस, योगा तथा ध्यान जस्ता शारिरीक तथा मानिसिक अभ्यास गराउने ठाउँ बन्द हुने हुँदा यी सबै अभ्यास घरमा नै गर्न सकिन्छ । यदी जीममा गएर गर्ने अभ्यास घरमा नै गर्ने हो भने आफूसँग उपलब्ध भएका वजनदार वस्तु उठाउने, पुसअप गर्ने, हाइजम्प, लङ्जम्प गर्ने, दौड जस्ता कसरत पनि बढी उपयोगी हुन सक्छन् । यदी योगा , ध्यान गर्ने हो भने युट्युवको प्रयोग गरेर विभिन्न योगा र ध्यान गराउने साइटको सहयोग लिन सकिन्छ ।

काम गर्ने तरिका व्यवस्थित बनाउने

लकडाउनको समयमा घरमा बस्दा काम गर्ने तरिका नमिल्दा शारिरीक तथा मानसिक पीडा हुन सक्छ त्यसैले पहिलेदेखि अफिसमा गर्दै आए जस्तै तौर तरिका अपनाउनु जरुरी हुन्छ । काम गर्दै जाँदा थकाइ लागे केही समय ब्रेक लिने परिवारसँग रमाइलो गर्ने काम गर्दा शरिरलाई उपयुक्त हुने कपडाको प्रयोग गर्ने, काम गर्ने समय पहिले जस्तै निर्धारण गर्ने, समयमा खाना नास्ता खाने केही समय रमाइलो वातावरणमा बस्ने, केही समय वरपर गर्ने, अफिसमा सँगै काम गर्दै आएका साथी वा इष्टमित्रसँग केही समय फोनमा कुराकानी गर्ने, अफिसमा काम गर्दा जस्तै साप्ताहिक विदा लिन नभुल्ने, पहिले अफिस आउन जान लाग्ने समय आफ्नो सुरक्षाका लागि छुट्टाउने ।

सामाजिक सञ्जालको प्रयोग गर्ने

लकडाउनको समयमा विभिन्न व्यक्ति तथा इष्टमित्रसँग सम्पर्कमा रही रहन सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ । जसको प्रयोगले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने खतरा पनि कम हुन्छ भने आफ्ना इष्टमित्रलाई समय पनि दिन सकिन्छ । फेसबुक, ह्वाट्सएप, इमो, भाइबर, ट्वीटर र स्काइभ जस्ता सामाजिक सञ्जालको प्रयोग गर्न सकिन्छ ।

अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने

देशैभर एकै साथ लकडाउन भएकाले दैनिक मजदूरी गर्दै आएको ठूलो जमात अहिले अप्ठ्यारो अवस्थामा परेका छन् । यस्तो समयमा आफूले सक्ने सहयोग गरी उनीहरुको दैनिकीमा केही सहजता ल्याइदिन सकिन्छ । आफूसँग मास्क, सेनेटाईजर पर्याप्त छ भने सहयोग गर्ने, बिहान बेलुकाको छाक टार्न कसैलाई समस्या परेको छ भने आफूले जे सकिन्छ त्यही सहयोग गर्ने । आपतविपद् पर्दा मान्छेले नै मान्छेलाई सहयोग गर्ने हो भन्ने भावना जगाइ राख्ने ।

स्वस्थ व्यक्तिले मास्कको प्रयोग नगर्ने

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिले बजारमा मास्क, पन्जा जस्ता मेडिकल सामग्रीको अभाव देखिएको यस्तो समयमा स्वस्थ व्यक्तिले मास्कको प्रयोग नगर्दा पनि हुन्छ । स्वस्थ व्यक्तिले अनावश्यक रुपमा मास्कको खपत गरिदिँदा संक्रमित व्यक्तिले मास्क नपाउन सक्छन् । द न्यूर्योक टाइम्स

Logo