गण्डकी प्रदेश : नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्‍याइँदै

गण्डकी प्रदेश : नियमित खानुपर्ने औषधि सर्वसाधारणको घर घरमा पुर्‍याइँदै

केन्द्रबिन्दु
0
Shares

कास्की ।
कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरण गर्न सरकारले ‘लकडाउन’ आह्वान गरेको छ । लकडाउनका कारणले सबैतिर सुनसान छ । दुई साता लामो लकडाउनका कारणले अत्यावश्कीय बाहेक घरबाहिरसमेत निस्कन पाइँदैन । यस्तो अवस्थामा नियमित औषधि सेवन गर्नुपर्ने व्यक्तिहरु औषधिका लागि स्वास्थ्य संस्थासम्म पुग्न सक्ने अवस्था छैन ।

विकट गाउँबस्तीमा त झन यस्तो समस्याबाट धेरै नै प्रभावित बनेका छन् । तर कास्कीको माछापुच्छ्रे गाउँपालिकाका दुई वडाका स्वास्थ्य संस्थाले भने अहिलेको विषम अवस्थामा समेत नियमित औषधि सेवन गरिरहेकाहरुलाई अत्यावश्यक औषधि घरमै लगेर वितरण गर्ने गरेका छन् । ल्वाङ्घलेल स्वास्थ्य चौकी र सिदिङ सामुदायिक स्वास्थ्य इकाइले सामाजिक सञ्जाल र फोन सम्पर्कको माध्यमबाट सर्वसाधारणलाई अत्यावश्यक औषधिको विवरण मागेर चाहिने औषधि स्वास्थ्य संस्था, औषधि पसल र पोखराबाट लगेर सर्वसाधारणलाई उपलब्ध गराउने गरिएको छ ।

वडा नं. ९ का अध्यक्ष दुर्गाबहादुर क्षत्री, वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद दवाडी, वडा सदस्य नवीन राना, ल्वाङ्घलेल स्वास्थ्यचौकी प्रमुख आनन्द बराल, स्वास्थ्य चौकीका अहेव हरिबहादुर मल्ल र सिदिङ सामुदायिक स्वास्थ्य इकाइका मेघनाथ अधिकारीलाई आवश्यक औषधि टिपाउन सर्वसाधारणमा सूचना जारी गरिएको छ ।

त्यसरी सर्वसाधारणले फोन, म्यासेन्जर वा भाइवरमा समेत औषधिको फोटोसहित टिपाउनेलाई घरमै औषधि पु¥याउने व्यवस्था गरिएको छ । जनतामा हालको लकडाउनका कारण नियमित रुपमा खानुपर्ने औषधि अभाव नहोस् र समस्यामा नपरुन् भनेर सामाजिक संजालनको प्रयोग गर्दै औषधि व्यवस्थापनको कार्य भइरहेको ल्वङ्घलेल स्वास्थ्य चौकी प्रमुख बरालले बताए ।

“अहिलेको विषम परिस्थितिमा प्रेसर, सुगरलगायत रोगको नियमित औषधि सेवन गर्नुपर्नेलाई औषधि अभाव नहोस् भनेर उनीहरुले खाने औषधिको जानकारी स्वास्थ्य संस्था वा जनप्रतिनिधिलाई टिपाउन भनेका छौँ ।” बरालले भने, “कतिपयले आवश्यक औषधि फोटो खिचेर म्यासेन्जर र भाइवरमा समेत पठाउनुहुन्छ भने कोहीले फोनबाट टिपाउने गर्नुभएको छ । सर्वसाधारणलाई चाहिने औषधि पाएसम्म स्वास्थ्य संस्था, यहाँकै पसल वा नभए बजारबाट ल्याएरसमेत वितरण गरेका छौँ ।”

कतिपय रोगका औषधि सम्बन्धित बिरामीनै अस्पतालसम्म पुग्नुपर्ने अवस्था रहेकाले त्यस अवस्थामा बिरामीलाई स्वास्थ्य चौकीबाट पास बनाएर पोखरा पठाउने गरिएको बताइन्छ । वडाध्यक्ष क्षत्रीले कोरोना सङ्क्रमण फैलनबाट रोक्न वडाबासीको सुरक्षामा आफूहरु लागेको र सर्वसाधारणलाई घरभित्रै बसेर सहयोग गर्न आग्रह गरिएको बताउँदै आवश्यक औषधि सर्वसाधारणको घर वा नजिकको स्थानमा भीडभाड नगरिकन वितरण गरिएको बताउँछन् ।

स्वास्थ्य क्षेत्रका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेकका बिदा नपाउने

गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचार तयारीका सम्बन्धमा गरेको निर्णय अनुसार त्यस्ता कर्मचारीहरुको राजीनामा समेत स्वीकृत नगरिने भएको छ ।

प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सबै कर्मचारीलाई तयारी अवस्थामा राख्नुपर्ने भएकाले सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध निकायका कर्मचारीलाई सुत्केरी बिदा र किरिया बिदाबाहेक अन्य बिदा स्वीकृति नगर्ने निर्णय गरेको जानकारी गराए । यसअघि स्वीकृत भएका बिदा रद्द गर्ने र अहिलेको अवस्थामा स्वास्थ्य सेवामा आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्ने निर्णय गरेको उनले बताए ।

मन्त्रिपरिषद्ले कोभिड–१९ रोगको रोकथाम, नियन्त्रण तथा उपचारका सम्बन्धमा कर्मचारीलाई तयारी हालतमा राख्नुपर्ने भएको हुँदा सामाजिक विकास मन्त्रालय तथा मातहतका निकाय एवं स्वास्थ्य सेवासँग आबद्ध निकायका कर्मचारीका सुत्केरी बिदा तथा किरिया बिदाबाहेकका अन्य बिदा स्वीकृत नगर्ने, स्वीकृत भइसकेका बिदासमेत रद्द गरी त्यस्ता कर्मचारीलाई तयारी हालतमा राख्ने र अर्को आदेश नभएसम्मका लागि स्वास्थ्य सेवासँग आबद्ध कर्मचारीको राजीनामा समेत स्वीकृत नगर्न सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको छ ।रासस

Logo