संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

संक्रमित वृद्धाको धौलागिरि अस्पतालमा उपचार हुँदै

केन्द्रबिन्दु
0
Shares

गलकोट ।

बिहीबार कोरोना संक्रमित पुष्टि भएकी बागलुङकी एक ६५ वर्षीयालाई धौलागिरि अञ्चल अस्पताल बागलुङमा ल्याएर उपचार शुरु गरिएको छ । होम क्वारेन्टाइनमा बस्दै आएकी वृद्धालाई कोरोना पुष्टि भएसँंगै बिहीबार साँझ धौलागिरि अञ्चल अस्पतालमा ल्याएर आइसोलेशन वार्डमा भर्ना गरिएको अस्पतालले जनाएको छ । ती वृद्धाको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमित वृद्धा चैत ४ गते बेल्जियमहुँदै कतारको दोहाबाट नेपाल आएकी थिइन् ।

क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी उनीसँगै बाग्लुङमा कोरोना संक्रमित दुई जना भएका छन् । उनी सवार विमानमा संँगै आएका बाग्लुङकै एक किशोरीमा कोरोना पुष्टि भएसंँगै वृद्धाको समेत स्वाब परीक्षणका लागि काठमाडौँ पठाइएको थियो । बिहीबार आएको नमूना स्वावको रिपोर्टमा पोजेटिभ देखिएकाले उनलाई अञ्चल अस्पतालमा ल्याएर उपचार गर्न थालिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

“उपचाररत दुवै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ” पोखरेलले भने “हामी सुरक्षित तरिकाले उपचारमा खटिरहेका छौँ, तपाईंहरु घरमै बस्नुहोस्, समस्या भए तुरुन्तै अस्पतालमा सम्पर्क राख्नुहोस् ।”

चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा चैत ४ गते नेपाल आएकी बाग्लुङकी युवतीमा कोरोना पुष्टि भइसकेको छ । ती युवतीको पनि अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको दोस्रो पटकको स्वाब परीक्षणको काम भइरहेको छ । बाग्लुङमा दुई जनालाई कोरोना पुष्टि भएसँंगै बाग्लुङ कोरोनाको इपिसेन्टर बन्दै गएको भनी यहाँका नागरिकले थप सतकर्तता अपनाउन थालेका छन् ।रासस

Logo