नेपालमा ५७९ जनाको कोरोना परीक्षण, सबैको रिर्पोट नेगेटिभ

नेपालमा ५७९ जनाको कोरोना परीक्षण, सबैको रिर्पोट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले कोरोना भाइरस (कोभिड–१९) को महामारीसँग जुध्न महत्वपूर्ण कार्यक्रम अघि सारिरहँदा हालसम्म नेपालमै गरिएको परीक्षणमा कसैमा पनि कोरोना संक्रमण देखिएको छैन । ७ चैतसम्म ५ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो । तीमध्ये सबैमा कोरोना नेगेटिभ नतिजा देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग ९ सय जनाको कोरोना परीक्षण गर्न सक्ने क्षमता रहेको उपकरण छ । प्रयोगशालामा हाल दैनिक ५० देखि ६० जनासम्म कोरोना परीक्षणका लागि नमुना आउने गरेको छ । तर, सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए । प्रयोगशालाले ‘नेजल स्वाब’ र ‘थ्रोट स्वाब’ को नमुनाबाट परिक्षण गर्दै आएको छ । हाल २५ जनाको कोरोना परीक्षण भइरहेको छ ।

चीनबाट आएका एक नेपालीलाई दुई महिना अघि कोरोना पोजेटिभ देखिएको थियो । उनको रिपोर्ट हङकङ पठाइएको थियो । पुनः कोरोना परीक्षण गर्दा नतिजा नेगेटिभ आएपछि हालसम्म कुनै पनि नेपालीलाई कोरोना पोजेटिभ नभएको प्रयोगशालाले जनाएको छ ।

यसैबीच, चिकित्सकहरूले कोरोना भाइरस संक्रमणको जोखिम रहे पनि आत्तिइहाल्नु पर्ने अवस्था नभएको सुझाव दिएका छन् । तर, सतर्कता भने अपनाउनु पर्ने चिकित्सकको भनाइ छ । नेपालमा केन्द्रीय प्रयोगशालाका रूपमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मात्रै कोरोना परीक्षण हुँदै आएको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिगत सरसफाइमा विशेष ख्याल गर्नुपर्छ । सतर्कता पनि अपनाउनुपर्छ ।’

सरुवा रोग अनुसन्धान विशेषज्ञ प्राडा जीवनबहादुर शेरचनले भने, ‘आतंकित हुनुपर्ने अवस्था छैन । नेपालमा भाइरस सक्रिय हुने वातावरण नभएर पनि संक्रमण नभएको हुन सक्छ।’
हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाइबाट सरेको पुष्टि भएको छैन । यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो । चिकित्सकहरूका अनुसार कोरोना भाइरसबाट संक्रमित व्यक्तिले खोक्दा र हाच्छिउँ गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ ।

पछिल्लो तथ्यांक अनुसार कोरोना संक्रमणबाट ३ लाख ५ हजार ६ सय ५५ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १३ हजार १७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ९४ हजार २ सय ७६ जना निको भएर फर्किसकेका छन् । १८८ देशमा कोरोना पुगेको छ ।राजधानीबाट

Skip This
Skip This
Logo