जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना

जिपी कोइराला उपचार केन्द्रमा आइसोलेसन कक्ष स्थापना

केन्द्रबिन्दु
0
Shares

तनहुँ ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रले कोरोना भाइरसको शङ्कास्पद बिरामीको उपचार गर्न आइसोलेसन कक्ष स्थापना गरेको छ ।

अस्पतालमा २० शैयाको आइसोलेसन कक्ष निर्माणको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले जानकारी दिए । “अस्पतालको भवनभित्र एउटा कोठामा आइसोलेसन कक्ष निर्माण भइरहेको छ”, उनले भने, “केही दिनभित्रै सबै काम सकिन्छ ।”

सो कक्षमा कोरोना भाइरसका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइने निर्देशक डा श्रेष्ठले जानकारी दिए । कोरोनाको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गरेर स्थानीयस्तरमा पूर्वतयारीस्वरुप आइसोलेसन कक्ष स्थापना गरिएको बताइएको छ ।

गण्डकी प्रदेश सरकारले यहाँसहित पोखराका पाँच अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरेको छ । पोखराका चार अस्पतालमा ७० शैयाको आइसोलेसन कक्ष स्थापना गरिएको छ । मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५, चरक अस्पतालमा ३० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० श्ययाको आइसोलेसन कक्ष स्थापना भएको बताइएको छ ।

स्वास्थ्य सहायता कक्ष स्थापना

गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका –४ स्थित पुलजीपमा कोभिड–१९ परीक्षण गर्न आइतबार स्वास्थ्य सहायता कक्ष स्थापना गरिएको छ ।

सहायता कक्षबाट कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश प्रवाह गरिने र साबुनपानीले हात धुने तरिका सिकाइने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए। सहायता कक्षमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । “पृथ्वीराजमार्ग हुँदै दैनिक सयौँको सङ्ख्यामा सर्वसाधारण गण्डकी प्रदेश प्रवेश गर्ने गर्दछन्”, उनले भने, “सर्वसाधारणलाई कोरोना भाइरसबाट बच्ने उपायबारे सहायता कक्षबाट सचेतना प्रदान गरिनेछ ।” उक्त सहायता कक्षको गाउँपालिकाका अध्यक्ष थापा, प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपाने, योजना अधिकृत बुद्धिप्रसाद भुसाललगायतले अवलोकन गरेका थिए ।रासस

Skip This
Skip This
Logo