प्रदेश–१ अस्पतालबाट स्यानेटाइजर र मास्क उत्पादन शुरु

प्रदेश–१ अस्पतालबाट स्यानेटाइजर र मास्क उत्पादन शुरु

केन्द्रबिन्दु
0
Shares

विराटनगर ।

कोभिड–१९ सङ्क्रमणबाट चिकित्सक, स्वास्थ्य कर्मचारी, बिरामीलाई उच्च सतर्कता अपनाउनका लागि प्रदेश अस्पताल (कोशी) ले आजदेखि हातमा प्रयोग हुने स्यानेटाइजर र मास्कको उत्पादन शुरु गरेको छ । स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफैं उत्पादन शुरु गरेको हो ।

उक्त सामग्री निर्माणका लागि आवश्यक कच्चापदार्थ बजारबाट खरिद गरी स्यानेटाइजर र मास्क बनाउन शुरु गरेको अस्पतालका मेडिकल प्रमुख डा सङ्गीता मिश्राले जानकारी दिइन्। अस्पतालका चिकित्सक तथा कर्मचारीको सहयोगमा विभिन्न रसायनको प्रयोग गरी २० लिटर ह्यान्ड स्यानेटाइजर उत्पादन गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार विभिन्न रसायन मिसाएर स्यानेटाइजर उत्पादन गर्नाका साथै एक हजार थान डबल लेयरको माक्ससमेत बनाइएको प्रमुख डा मिश्राले बताइन् । अस्पतालका चिकित्सक, कर्मचारी तथा बिरामीलाई प्रयोग गर्नका लागि स्यानेटाइजर उत्पादन गरेको र आगामी दिन आवश्यकता अनुसार थप उत्पादन गर्ने अस्पतालले जनाएको छ । अस्पताल प्रमुख डा मिश्राले उत्पादन गरिएको स्यानेटाइजर र माक्स सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाप्रमुख डा सुरेश मेहतालाई हस्तान्तरण गरिन् ।

अस्पतालले उत्पादन गरेका यी सामग्री प्रदेश सरकारले स्वास्थ्य जाँचका लागि सञ्चालन गरेको सहायता कक्षमा प्रयोग गरिने जनाइएको छ । स्यानेटाइजर उत्पादनका लागि हाइट्रोजन प्यारासाइड, स्प्रिट तथा ग्लिसिरिङ प्रयोग गरिएको छ ।

यसैगरी अस्पतालले कोभिड–१९ बाट सङ्क्रमितका लागि तीन शैयाको फिवर क्लिनिक सञ्चालन गर्ने तयारी गरेको छ । अस्पतालले कोभिड–१९ सङ्क्रमण बिरामीको जाँचका लागि प्रयोगशालासमेत सञ्चालनमा ल्याएको छ । अहिले विराटनगर बजारमा स्यानेटाइजर र मास्कका व्यापारीले कृत्रिम अभाव सिर्जना गरी चारदेखि पाँच सय प्रतिशत मूल्य वृद्धि गरेको उपभोक्ता राजेशसिंह डङ्गोलले बताए । प्रदेशको सबैभन्दा ठूलो यो अस्पतालमा दुर्गम पहाडी क्षेत्रका साथै सीमावर्ती भारतीय शहरका बिरामीको उच्च चाप रहने गरेको छ । अस्पतालमा दैनिक तीन हजारभन्दा बढी बिरामी उपचारका लागि आउने गर्दछन् ।रासस

Skip This
Skip This
Logo