‘कोरोना नेपालमा आइसकेको हुन सक्ने सम्भावना बढी छ’ : डा.अनूप सुवेदी (भिडियोसहित)

‘कोरोना नेपालमा आइसकेको हुन सक्ने सम्भावना बढी छ’ : डा.अनूप सुवेदी (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोरोना भाइरसको संक्रमण हालसम्म १ सय २३ मुलुकमा फैलिएको छ । यसकै कारण मृत्यु हुनेको संख्या ४ हजार ६२७ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् । कोरोना भाइरसका कारण विश्वभर सन्त्रास छाएको छ र हरेक दिन द्रुतगतिमा फैलिरहेको छ । हालसम्म नेपालमा संक्रमित नदेखिएको भएपनि कोरोना नेपालमा आउनबाट रोक्न नसकिने डा. अनूप सुवेदीले बताएका छन् । यसपटक हामीले डाक्टर सुवेदीसँग कुराकानी गरेका छौं ।

नेपालमा अहिले कोरोनाको अवस्था के कस्तो छ ?
नेपालमा एकजनामा देखिएको पुष्टि भएको हो र उपचार पनि सफल भइसकेको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिहरुमा पनि देखिएको छैन र विश्वका विभिन्न देशहरुमा तिब्ररुपमा फैलिएको हुँदा नेपालमा पनि फैलिन्छ कि भन्ने त्रास छ ।

नेपालमा कोरोना भाइरसको आशंकामा जचाँउन आउने बिरामीहरुको मात्रा के कस्तो छ ?
हरेक वर्ष मौसम परिवर्तन हुने बेला रुघाखोकी तथा ज्वरोको बिरामीहरु बढ्नु सामान्य कुरा हो । यो एक दुई हप्तामा बिरामीहरु पहिलेको तुलनामा बढेका छन् ।

केही गरी नेपालमा कोरोना भाइरस फैलियो भने हामीले के गर्नुपर्ला ?
सम्बन्धित निकायले पहलकदमी गर्नुपर्छ । विश्व स्वास्थ्य संगठन अथवा सम्बन्धित ठाउँबाट सहयोग लिनुपर्छ । आवश्यक उपचार उपकरणहरुको व्यवस्था सरकारबाट गरिनुपर्छ । साँच्चै नेपालमा कोरोना भाइरस देखियो भने अहिले भएका उपकरणहरुले जाँच गर्न सकिदैन । नेपालमा दक्ष जनशक्ति चाहिन्छ ।

नेपालमा दक्ष जनशक्ति छ कि छैन त ?
कोरोना भाइरसको उपचारको लागि दक्ष जनशक्ति भनेको त सम्पूर्ण स्वास्थ्यकर्मीहरु हो । सबैलाई निश्चित किसिमको तालिमहरु दिइनुपर्छ । उपचारको लागि ठूलो टिम चाहिन्छ जुन अहिले छैन । त्यस्तो किसिमको टिम बनाउने कुराहरु त सुनिन्छ तर अहिलेसम्म भएको छैन ।

इटालीले अहिले डेढ करोड जनताहरुलाई क्वारेन्टाइनमा राखेको छ । यो नेपालमा फैलियो भने कति जनालाई क्वारेन्टाइनमा राख्न सकिन्छ ?

इटालीको जस्तो व्यवस्था हामीले गर्न सक्दैनौँ । हाम्रो देशमा जनस्वास्थ्य संयन्त्र छैन । आवश्यक पूर्वाधार नै नभएपछि हामी इटालीको जस्तो गर्न सक्दैनौँ ।

कतिपय अस्पतालहरुमा कोरोनासँग मिल्ने लक्षण भएका बिरामीलाई अर्को अस्पतालमा पठाइएको कुराहरु आइरहेको छ । यो कतिसम्मको जायज कुरा हो ? तपाईंले यस्तो गर्नुभएको छ कि छैन ?
मैले त यस्तो गरेको छैन । सामान्यतयाः रुघाखोकीका लक्षण वर्षेनी हजारौँ मानिसहरुमा देखिन्छ । यो लक्षण कोरोनाको मात्रै नभएर मौसम परिवर्तनको पनि हो । यस्तो लक्षण भेटिंदैमा उपचार नगर्ने हो भने अस्पतालको व्यापार नै सुक्छ । रुघाखोकी लाग्दैमा अर्को अस्पताल पठाउने कुरा चाँही एकदम हाँस्यास्पद हुन्छ ।

चीनबाट आएका विद्यार्थीहरुलाई जाँच्न कतिपय चिकित्सकहरु कोरोनाको त्रासले नगएको हल्ला छ । साँच्चिकै नेपालमा फैलियो भने चिकित्सकहरु लुक्छन् होला भन्ने अर्को हल्ला छ । के भन्नुहुन्छ ?
कोरोना लुकेर नसर्ने रोग होइन । अहिलेसम्म सबै डाक्टरहरुले हेरि नै रहेका छन् । साँच्चिकै नेपालमा कोरोना फैलियो भने चिकित्सकहरु लुकेर जोगिन सक्दैनन् ।

अहिले नेपालमा कोरोना फैलिसकेको त छैन । यसलाई फैलिनै नदिन चाँही के गर्नुपर्ला ?
नेपालमा कोरोना आँउदै आँउदैन अथवा आएकै छैन त भन्न सकिन्न । आइसकेको हुनसक्ने सम्भावना ठूलो छ जस्तो लाग्छ । आउनै नदिने हो भने सर्वप्रथम नेपालभित्र भएका सम्पूर्ण नागरिकलाई जाँच्नुपर्छ । अर्को कुरा सीमाहरुलाई बन्द नै गर्नुपर्छ । तर यो सम्भव पनि छैन ।

कोरोना भाइरस सर्वसाधारणमा फैलिएको त्रास जत्तिकै हानिकारक छ त ?
अधिकांश मान्छेहरुलाई यो त्यति खतरनाक छैन । दीर्घरोगी तथा इम्युनिटी पावर कम भएका मानिसहरुमा यसले बढी असर गर्छ ।

यो कति तापक्रमसम्म जीवित रहन्छ ?
यो कति तापक्रमसम्म जीवित रहन्छ र कति तापक्रममा मर्छ भन्ने कुरा यकीनका साथ त भन्न सकिन्न । तापक्रम बढ्दै गयो भने यो कम हुन्छ घटेसँगै यो बढ्छ भनेर चाहीं हामी अनुमान गर्न सक्छौँ । हेरौं यो भिडियोमा :

 

 

Skip This
Skip This
Logo