रामेछाप अस्पतालमा सुरु भयो आईसीयू सेवा

रामेछाप अस्पतालमा सुरु भयो आईसीयू सेवा

केन्द्रबिन्दु
0
Shares

रामेछाप – रामेछाप जिल्ला अस्पतालमा पहिलो पटक आईसीयू सेवा सुरु भएको छ। सो सेवा सुरु भएसँगै गम्भीर प्रकृतिका बिरामीको पनि जिल्लामा नै उपचार सम्भव हुने भएको छ। जिल्ला अस्पतालले आफ्नै पहलमा दुई बेडको आईसीयू कक्ष सञ्चालनमा ल्याएको जिल्ला अस्पताल रामेछापले जनाएको छ।

जिल्लामा आईसीयू उपचार कक्ष नहुँदा गम्भीर प्रकृतिका बिरामीलाई उपचारको लागि जिल्ला बाहिर लैजानु पर्ने अवस्था थियो। अब त्यो समस्या हल भएको जिल्ला अस्पताल रामेछापले जनाएको छ।

प्रदेश स्तरको रामेछाप अस्पतालले प्रवाह गर्ने सेवा थप गर्दै लगेको छ। जसले गर्दा बिरामीहरूले स्थानीय स्तरमा नै सेवा पाउन लागेका छन्। अस्पतालले हाल निःशुल्क रूपमा डायलाईसिस सेवा, चौबिसै घण्टा मेडिकल लिगल सेवा,सामाजिक सेवा इकाई, निःशुल्क एकद्वार संकट व्यवस्थापन केन्द्र सञ्चालन गरिरहेको छ।

त्यस्तै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नसर्ने रोगहरू सम्बन्धी निःशुल्क जाँच, निदात्मक तथा परामर्श सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ। यसैगरी ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई दन्त सामाग्री निःशुल्क वितरण, हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा मानसिक तथा नशा रोग सेवा सम्बन्धी निःशुल्क जाँच सेवा पनि अस्पतालले प्रवाह गर्दै आएको छ।

हरेक महिनाको अन्तिम बुधबार विशेषज्ञद्वारा नाक, कान, घाँटी तथा थाईरोईड रोग सम्बन्धी निःशुल्क जाँच, नवजात शिशुलाई निःशुल्क उपचार व्यवस्थापन, निःशुल्क रूपमा आकस्मिक प्रसूति रेफर तथा निःशुल्क प्रसूतिजन्य शल्यक्रियाको सेवा समेत अस्पतालले प्रदान गर्दै आएको छ।

Logo