स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् असहमति

स्वास्थ्य समितिले गठन गरेको उपसमितिप्रति तोसिमाले जनाइन् असहमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि संसदीय समितिले गठन गरेको उपसमितिप्रति असहमति जनाएकी छन्।

सिटीइभिटी र चिकित्सा शिक्षा आयोगबीच पीसीएल नर्सिङ सम्बन्धन, नियमन, मापदण्ड लगायतका विवाद अध्ययन गरी सुझाव दिनका लागि उपसमिति गठन गरिएको थियो । चिकित्सा शिक्षा ऐन मर्म विपरीत र नर्सिङका गुणस्तरको मापदण्डमा खलल पुग्ने गरी सुझावहरू आएकाले आफूले असहमति राखेको कार्कीले उल्लेख गरेकी छन्।

समिति सभापतिलाई बुझाएको पत्रमा कार्कीले असहमतिका पाँच बुँदा उल्लेख गरेकी छन्। सुझाव प्रतिवेदनमा हस्ताक्षर गर्न आफूले अस्वीकार गरेपनि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि मन्त्रालय पठाइएको भन्दै उनले असहमति राखेकी छन्।

गुणस्तर र प्रयोगात्मक शिक्षाका लागि १०० शय्या र ६० प्रतिशत शय्या अकुपाई भएको आफ्नो अस्पताल हुनुपर्ने राय राखिए पनि त्यस विपरीत निर्णय लेखिएको उनले असहमतिमा लेखेकी छन् । विज्ञ र सरोकारवालाको राय विपरीत एवम् चिकित्सा शिक्षा ऐनको मर्म विपरीत निर्णय लेखिएकाले आफ्नो असहमति रहेको उनले उल्लेख गरेकी छन् ।

संस्थालाई मापदण्ड पुगेता पनि नर्सिङ भर्ना गर्ने अनुमति नदिइएको भन्ने तथ्याङ्क खोजी गर्ने र त्यसो भएको हो भने सच्याउन निर्देशन दिनुपर्ने राय राखेकोमा तथ्याङ्क खोजी तर्फ उपसमितिले चासो नदिएको कार्कीले असहमतिमा लेखेकी छन् ।

Logo