गोकर्णेश्वरमा ‘हेल्थ कार्ड’ सुरू, स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने

गोकर्णेश्वरमा ‘हेल्थ कार्ड’ सुरू, स्वास्थ अवस्थाबारे क्यु आर कोडबाट जानकारी लिन सकिने

केन्द्रबिन्दु
126
Shares

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले सम्पूर्ण नगरवासीको स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी एकीकृत इलेक्ट्रोनिक पब्लिक हेल्थ प्रोफाइल सिस्टमसहित “गोकर्णेश्वर हेल्थ कार्ड” सुरु गरेको छ।

बिहीबार नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमार्फत् मेयर दीपक कुमार रिसालले सेवाबारे जानकारी गराएका छन्। यो सेवा सुरु गर्ने गोकर्णेश्वर नगरपालिका नेपालकै पहिलो स्थानीय तह हो । मेयर रिसालले नगरवासीहरूको सु-स्वास्थ्यलाई उच्च प्राथमिकता दिँदै पछिल्लो अभ्यास मुलुककै समग्र स्वास्थ्य क्षेत्रका लागि कोसेढुंगा साबित हुने बताए ।

हेल्थ कार्ड सुरु भएपछि स्वास्थ्य सेवामा जोडिने सेवाग्राही, सेवा प्रदायक स्वास्थ्य संस्थाहरू तथा स्वास्थ्यकर्मीहरू, समन्वय र सुपरिवेक्षण गर्ने वडा कार्यालय एवं नगरपालिकाले तोकेका सरोकारवालाहरूलाई एउटै प्रकृतिले जोडेर एक “पालिका स्वास्थ्य प्रणाली र नमुना” बनाउने सफ्टवेयरको माध्यमबाट नगरवासीको स्वास्थ्य अवस्था तथा उपचारको जानकारीलाई लिइने मेयर रिसालले बताए ।

त्यस्ता जानकारी एवम् सूचनाहरू विशिष्ट कृत युनिक हेल्थ आइडीको माध्यमबाट सुरक्षित राख्दै जाने र त्यसमध्ये अत्यावश्यक निश्चित हेल्थ रेकर्ड “क्यु आर कोड” मार्फत् बिरामी वा नागरिकले चाहेको अवस्थामा जुनसुकै स्थानबाट स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीले प्राप्त गर्न सक्नेगरी “गोकर्णेश्वर हेल्थ कार्ड”को परिकल्पनाबाट सिस्टम तयार गरिएको पनि उनले जानकारी दिए ।

स्वास्थ्य स्थिति र नगरपालिकाले प्रदान गर्ने स्वास्थ्य सुविधाका दृष्टिले फरक वर्ग र तहका ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, खेलाडी, शिक्षक, रोग अनुसारका बिरामीहरू लगायतलाई फरक फरक कलर कोडिङ गर्न सकिने यस प्रणालीले नगरपालिकाको स्वास्थ्य सेवा प्रवाह र नीति निर्माणलाई तथ्याङ्कपरक तरिकाले व्यवस्थित गर्नेछ ।

मेयर रिसालका अनुसार यो सिस्टममार्फत् नगरपालिकाको “सिङ्गल क्लिक स्वास्थ्य दर्पण”को भूमिका बहन गर्दै प्रदेश सरकार र सङ्घीय सरकारसँग तोकेअनुसार तथ्याङ्क र सूचना साटासाट गर्न सकिनेछ।

साथै मेयर रिसालले केहि महिना अगाडि प्रधानमन्त्री पुष्षकमल दाहाल (प्रचण्ड) बाट हेल्थ अवार्ड प्राप्त गरेकाे स्मरण गराउँदै स्वास्थ्य सेवाकाे थप प्रभावकारिताकाे लागि नगरपालिका परिवार सदैव सकारात्म सुझावकाे अपेक्षा गर्ने बताए।

Logo