मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

केन्द्रबिन्दु
84
Shares

काठमाडौँ । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन् ।

विश्व मिर्गौला दिवसका अवसरमा वीर अस्प्ताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतले आज गरेको प्रभातफेरि कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले मरेर जाने शरीरका अङ्ग अरुलाई काम लाग्यो भने यसले जीवन बचाउन सक्ने बताएका हुन् ।

उपप्रधानमन्त्री यादवले आफूले पनि यसअघि नै अङ्गदान गरिसकेको उल्लेख गर्दै अङ्गदानले जीवनलाई सार्थक बनाउने र यस्तो पुण्य काममा लाग्न सबैलाई आग्रह गरे । “मरेर जाने अङ्ग अरुलाई दान गर्दा केही बिग्रँदैन”, उनले भने, “मृत मस्तिष्क (ब्रेनडेथ) भएको अवस्थामा निकालिएको अङ्गले धेरैको जीवन बचाउन सक्छ ।”

मिर्गौला दानबारे जनचेतना जगाउनुपर्नेमा कुरामा समेत उपप्रधानमन्त्री यादवले जोड दिए ।

रत्नपार्कको शान्ति बाटिकाबाट सुरु भएको प्रभातफेरि भृकुटीमण्डप, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा पुगेर समापन गरिएको थियो । प्रभातफेरिमा अङ्गदाता, अङ्ग प्रत्यारोपित, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

Logo