४५ वर्षमा चार करोड ३६ लाखको आँखा उपचार

४५ वर्षमा चार करोड ३६ लाखको आँखा उपचार

केन्द्रबिन्दु
56
Shares

चितवन । नेपाल नेत्रज्योति सङ्घबाट सञ्चालन भएका आँखा अस्पताल र आँखा उपचार केन्द्रहरुले स्थापनादेखि हालसम्म नेपाली र विदेशी गरी कूल चार करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई सेवा प्रदान गरेको छ।

विसं २०३५ मा स्थापना भएको सङ्घले गएको ४५ वर्षमा ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया गरेको छ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले विभिन्न देशमा रहेका नेपाली दूतावाससँगको समन्वय र सहकार्यमा सम्बन्धित देशमा रहेका नेपाली श्रमिकका लागि सोही देशमै आँखा उपचार सेवा प्रवाह गर्दै आएको बताए।

सङ्घले थाइल्यान्ड, बङ्गलादेश, ओमान, म्यान्मा, कतारजस्ता देशमा रहेका नेपाली श्रमिकलाई आँखा उपचार सेवा प्रवाह गर्ने र विदेशीलाइ नेपालमा आँखा उपचारका लागि आकर्षित गर्ने लक्ष्यसहित आँखा शिविर सञ्चालनको आवश्यक प्रक्रिया अगाडि बढाएको जनाएको छ। बङ्गलादेशमा पहिलो चरणमा आँखा शिविर सम्पन्न भइसकेको सङ्घका अध्यक्ष पन्तले बताए।

नेपाल सरकार तथा विभिन्न विकास साझेदारसँगको सहकार्यमा सन् २०३० सम्ममा हरेक स्थानीय तहसम्म आँखा उपचार सेवा विस्तार गर्ने सङ्घको लक्ष्य छ। नेपालबाट उपचारपछि निको हुने अन्धोपनको समस्या निवारण गर्ने लक्ष्य रहेको अध्यक्ष डा पन्तले बताए।

उनका अनुसार सन् १९८१ मा गरिएको राष्ट्रिय सर्वेक्षणले नेपालमा अन्धोपनको अवस्था जनसङ्ख्याको आधारमा ०.८४ प्रतिशत रहेको थियो। त्यसको ठीक ४० वर्षपछि सन् २०२१ मा गरिएको अध्ययनले अन्धोपनको समस्या घटेर ०.२८ प्रतिशतमा झरेको छ।

Logo