डा. विजय मानसिंहलाई प्रश्नः एउटा व्यक्तिले कति पटकसम्म मृगौला प्रत्यारोपण गर्न मिल्छ ? [भिडियाेसहित]

डा. विजय मानसिंहलाई प्रश्नः एउटा व्यक्तिले कति पटकसम्म मृगौला प्रत्यारोपण गर्न मिल्छ ? [भिडियाेसहित]

केन्द्रबिन्दु
224
Shares

काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत वरिष्ठ यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन्, डा. विजयमान सिंह कटुवाल । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध डा. कटुवाल मृगौला प्रत्यारोपण गरे पश्चात् मृगौला लिने र दिने दुवैकाे स्वास्थ्य ठिक रहने र डराउनु नपर्ने बताउँछन् । केएमसी अस्पतालले पनि मृगौला प्रत्यारोपण गराउन सुरु गरिसकेको छ । डा. कटुवालसँग मृगौला प्रत्यारोपण गर्ने विधि, प्रत्यारोपण लाग्ने खर्च, केएमसीले यसको उपचार कसरी गर्दै आएको लगायतका विषयसँग सम्बन्धित रही केन्द्रबिन्दुका लागि बालिका पोखरेलले गरेको छोटो कुराकानीको सम्पादित अंशः

मृगौला फेलियर के कारणले हुन्छ ? यसबाट बच्ने उपाय के हुन् ?

-दुवै मृगौलाले काम नै नगर्ने स्थिति र मानिसको ज्यान बचाउनको लागि डायलासिस गर्नुपर्ने अवस्थालाई मृगौला फेल भएको भनेर बुझ्न सकिन्छ । मृगौला फेलियर हुनबाट बच्न विशेष गरी खानपानमा तथा सरसफाईमा ध्यान पुर्याउनु पर्ने हुन्छ ।

प्रेसर या सुगरका कारण मृगौला बिग्रिएको हो भने मृगौला फ्याँक्नु पर्दैन ।

डायलासिस घरबाटै कसरी गर्ने ? कति लाग्छ खर्च ?

-दुवै मृगौला फेल भैसकेका बिरामीको ज्यान बचाउनलाई अस्थायी रूपमा डायलासिस गर्ने गरिन्छ । डायलासिस गर्दा जिउमा भएको फोहोरहरूलाई जिउबाट बाहिर निकालेर छानेर फेरि भित्र रगत हालिन्छ । विशेष गरी डायलासिसको दुई वटा प्रक्रिया हुन्छ । पेटबाट गरिने डायलासिस घरबाट पनि गर्न सकिन्छ । सानो शल्यक्रिया गरी एउटा पाइप हालेर विशेष किसिमको पानी निकालेर घरैबाट यो डायलासिस गर्न मिल्छ । जसलाई डाइलाइजर फिल्उड पनि भनिन्छ । नेपाल सरकारले सो विधिबाट गर्न सकिने केही उपकरणहरू निःशुल्क उपलब्ध गराउँछ ।

मृगौला लिने र दिनेसँग एउटा मात्र मृगौला हुने भएकाले बर्सेनी एकपटक मृगौलाको जाँच गराउन भने जरुरी छ ।

रगतबाट गरिने डायलासिस अस्पताल पुगेरै गर्नुपर्ने हुन्छ । रगतबाट गर्नुपर्ने डायलासिस हप्तामा दुई पटकसम्म गर्नुपर्ने हुन्छ । यस्तो किसिमको डायलासिस रगत बाहिर निकालेर मेसिनमा छानेर फेरी शरिरमा पुनः हाल्ने गरिन्छ । यस प्रकारको डायलासिसलाई हेमो डायलासिस पनि भनिन्छ । यो डायलासिस गरिसकेपछि धेरै पानी पिउनु हुँदैन । किनभने फोक्सोमा पानी जम्ने, सास फेर्न गाह्रो हुने, डायलासिस गर्दा पनि अप्ठ्यारो हुने, धेरै लामो समयसम्म डायलासिस गर्नुपर्ने हुनसक्ने भएकाले यस्तो सुझाव दिइन्छ । डायलासिस गर्दा अस्पतालहरूले लिने शुल्क भिन्न भिन्न हुन्छ ।

मृगौला प्रत्यारोपण कसरी हुन्छ ? प्रत्यारोपण गर्दा बढी खर्च लाग्नुको कारण के हो ?

-एक व्यक्तिको मृगौला झिकेर अर्को व्यक्तिमा हाल्ने प्रक्रिया नै मृगौला प्रत्यारोपण हो । जसमा सुगर प्रेसरको विरामीले जस्तै नियमित औषधि सेवन गरेर सामान्य जिवनयापन गर्न सकिन्छ । प्रत्यारोपण पश्चात् डायलासिसबाट छुटकारा पाइन्छ । प्रत्यारोपण गरिसकेपछि अन्य मानिस जस्तै नर्मल काम गर्न सकिन्छ भने खाने कुरामा पनि खासै मुख बारीराख्नु पर्दैन । नेपालको सन्दर्भमा ९५ प्रतिशतमा प्रेसर या सुगरले गर्दा मृगौला बिग्रिएको हुन्छ ।

यदि प्रेसर या सुगरका कारण मृगौला बिग्रिएको हो भने मृगौला फ्याँक्नु पर्दैन । नयाँ मृगौला तर खुट्टाबाट जाने रगतको नशाहरूमा जोडेर पिसाब थैलीमा अर्को पिसाबको नली जोडेर प्रत्यारोपण गरिन्छ । तर, मिर्गौलामा पिसाब फर्किएर पिसाब थैलीको कारण मृगौला बिग्रिएको हो अथवा धेरै पत्थरी भएका कारणले बिग्रिएको हो भने त्यो चाहिँ हेर्नु पर्ने हुन्छ ।

रगतबाट गर्नुपर्ने डायलासिस हप्तामा दुई पटकसम्म गर्नुपर्ने हुन्छ ।

घरीघरी मृगौलाका कारण इन्फेक्सन भयो अथवा पोलिस्टिक मृगौला रोग भन्ने वंशाणुगत रोग जसमा मृगौलाको काम गर्ने भागलाई पानीको फोकाले सब्टिट्युट गरिदिन्छ । पानीको फोका बढेर ठुलो हुन्छ । यस्तो अवस्थामा पेटभित्र मृगौला हाल्ने ठाउँ भएन भने मात्रै पुरानो मृगौला झिकिन्छ । अन्यथा नयाँ मृगौलालाई नयाँ ठाउँमा हालिन्छ । किनकि पुरानो मृगौला झिक्न जरुरी नहुनुका साथै मृगौला झिक्नु आफैमा एउटा मेजर सर्जरी पनि हो र यसमा जटिलता पनि आउन सक्ने भएकाले धेरै जसो नयाँ ठाउँमा नै मृगौला हालिन्छ ।

एउटा व्यक्तिले कति पटकसम्म मृगौला प्रत्यारोपण गर्न मिल्छ ?

-मृगौला दिने मान्छे भए जति पटक पनि प्रत्यारोपण गर्न सकिन्छ । तर, नेपालमा भने अहिलेसम्मको अवस्थालाई एउटै व्यक्तिले दुई पटकसम्म प्रत्यारोपण गरेका छन् ।

प्रत्यारोपण गर्ने बिरामीहरूले कस्तो कुरामा ध्यान दिन आवश्यक छ ?

-प्रत्यारोपण गर्ने बिरामीहरूले व्यक्तिगत स्वच्छताका साथै सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यसका साथै प्रत्यारोपण गरेका व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले भाैतिक दुरी कायम गर्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

मृगौला लिने र दिनेले कहिलेसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ?

-मृगौला दिने व्यक्तिले दिइसके पश्चात् केही हप्ता अस्पताल बसेर औषधीको सेवन गर्नुपर्ने हुन्छ । मृगौला दिने व्यक्तिको स्वास्थ्यमा सुधार आएपछि उसले औषधीको प्रयोग गरिराख्नु पर्दैन । तर, मृगौला लिने व्यक्तिले सुगर प्रेसरका बिरामी जस्तै आजीवन उहाँहरूले औषधि सेवन गरिराख्नु पर्ने हुन्छ । मृगौला लिने र दिनेसँग एउटा मात्र मृगौला हुने भएकाले बर्सेनी एकपटक मृगौलाको जाँच गराउन भने जरुरी छ ।

पुरानो मृगौला झिक्न जरुरी नहुनुका साथै मृगौला झिक्नु आफैमा एउटा मेजर सर्जरी पनि हो र यसमा जटिलता पनि आउन सक्ने भएकाले धेरै जसो नयाँ ठाउँमा नै मृगौला हालिन्छ ।

मृगौला प्रत्यारोपण गर्दा केएमसी अस्पतालमा कति लाग्छ नि उपचार खर्च ?

-केएमसी अस्पतालमा मृगौला प्रत्यारोपणको गर्ने प्रक्रिया सुरु भइसकेकाे छ । केएमसीमा मृगौला प्रत्यारोपण गर्दा करिव ६ लाख ५५ हजार रुपैयाँ सम्ममा लाग्ने देखिएको छ । यो बिरामीको डिस्चार्ज भई सक्दासम्म लाग्ने खर्च हो । बिरामीको अवस्था हेरेर पनि खर्चको निर्धारण हुन्छ । कुनै बिरामीलाई ५ लाख ५५ हजार लाग्छ त कसैलाई ७ लाख ५० हजार रुपैयाँ पनि लाग्छ सक्छ ।

Logo