डा. शैलेन्द्र वीर कर्माचार्यलाई प्रश्नः ‘नवजात शिशुको मृत्युदर घटाउन कहाँ चुकिरहेका छाैं ?’ [भिडियाे]

डा. शैलेन्द्र वीर कर्माचार्यलाई प्रश्नः ‘नवजात शिशुको मृत्युदर घटाउन कहाँ चुकिरहेका छाैं ?’ [भिडियाे]

केन्द्रबिन्दु
238
Shares

डा. शैलेन्द्र वीर कर्माचार्य स्वास्थ्य क्षेत्रको एउटा परिचित नाम हो । वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन डा. कर्माचार्य हाल परोपकार प्रसूति तथा महिला अस्पतालमा कार्यरत छन् । गर्भवती महिलाको प्रसूति गराउने क्रममा हुने मृत्युदरमा कमी आएता पनि नवजात शिशुको मृत्युदर भने यथावत् नै रहेको उनी बताउँछन् । उनै डा. कर्माचार्यसँग नेपालमा नवजात शिशुको मृत्यु दर कस्तो छ, के कारणले नवजात शिशुको मृत्यु हुने गर्छ र नवजात शिशुको मृत्युदर घटाउने उपाय के हुन् लगायत सन्दर्भमा केन्द्रविन्दुका लागि बालिका पोखरेलले कुराकानी गरेकी छिन् ।

नेपालमा पछिल्लो समय नवजात शिशुको मृत्युदर कस्तो छ ?

–जन्मिएदेखि २८ दिन भित्रको शिशुलाई नवजात शिशु भन्ने गरिन्छ । नेपालमा जन्मिएका हजार बच्चामध्ये २१ जना शिशुको मृत्यु हुने गरेको छ । जुन दर विगतदेखि यथावत् रहेको पाइन्छ ।

नवजात शिशुको एसडीजी टार्गेट भेट्याउन के काम भइरहेका छन् ?

–नवजात शिशुको हकमा सस्टेनेबल डेभलमेन्ट गोल (सडीजी) टार्गेट सन् २०३० सम्म नवजात शिशुको मृत्युदर पनि घटाउनु पर्ने हुन्छ । हजार शिशु जन्मिएको ठाउँमा अहिलेको अवस्थामा २१ जनाको मृत्यु भईरहेको अवस्थालाई सुधारेर उक्त अवधिसम्ममा १२ जनामा ल्याउनु पर्ने हुन्छ । यदि यही गति र यी नै साधन स्रोतमा रहेर काम गर्ने हो भने उक्त लक्ष्य प्राप्ति गर्न निकै चुनौतीपूर्ण रहेको छ । त्यसैले लक्ष्यसम्म पुग्नका लागि यसमा केही फरक र नयाँ तरिकाले कार्य सम्पादन गर्न आवश्यक छ ।

नवजात शिशुको के कारणले गर्दा मृत्यु हुने गर्छ ?

-कुनै पनि शिशुको समय अगावै जन्म हुनु यसकाे एउटा प्रमुख कारण हो । बच्चा जन्मिने क्रममा अक्सिजन नपुगेर हाइपोक्सिया भएमा वा बच्चा जन्मिए पश्चात् उक्त अस्पतालमा एसआइसियु तथा एनआइसियुको सुविधा नहुनु, गर्भवती महिलालाई नै पेटमा भएको बच्चालाई समस्याबारे थाहा नहुँदा पनि नवजात शिशुको मृत्यु हुने गर्छ ।

सरकारबाट नवजात शिशुको मृत्यु दर घटाउने के कस्ता पहल भइरहेको छ ?

–नवजात शिशुको मृत्यु दर घटाउन सरकारले विभिन्न चेतना मूलक कार्यक्रमहरू गर्ने गरेको छ । सरकारले हरेक प्रसूति अस्पतालमा नवजात शिशुको उपचारका निमित्त सोहीअनुसारको पूर्वाधार व्यवस्था गर्न लागि परेको छ । जसको उदाहरणको रूपमा ‘हेली रेस्क्यु’ लाई पनि लिन सकिन्छ । जसले गर्दा आमा र बच्चा दुवैको मृत्युदरमा कमि ल्याउन पनि मद्दत गर्छ ।

नवजात शिशुको मृत्युदर कसरी घटाउने ? यो दर घटाउनको लागि कुन निकायबाट के पहल भइरहेका छन् ?

-नवजात शिशुको अस्पतालमा भन्दा पनि घर पुगे पश्चात् मृत्यु बढी हुने गरेको पाइन्छ । यो मृत्युदर घटाउन उक्त शिशुको परिवारलाई घर पठाउनु अघि बच्चाको हेरचाह कसरी गर्नेदेखि कस्तो समस्या बच्चामा देखिए ढिला नगरी अस्पताल पुर्याउने जस्ता कुरामा राम्रो परामर्श दिनुका साथै हरेक वडामा भएका स्वास्थ्य स्वयम सेवकलाई यस विषयमा जागरूक बनाउन जरुरी छ । गर्भ अवस्थादेखि आमा र बच्चाको हेरचाह भए, जनचेतनामूलक सन्देश दिने लगायतका कार्य गर्न सके नवजात शिशुको मृत्युदर धेरै हदसम्म घट्ने देखिन्छ ।

Logo