सबै प्रकारकाे टाउको दुखाई पेन किलरले ठिक हुँदैन, ब्रेन ह्यामरेज भएकाे पनि हुनसक्छः डा. पारस थापा [भिडियाे]

सबै प्रकारकाे टाउको दुखाई पेन किलरले ठिक हुँदैन, ब्रेन ह्यामरेज भएकाे पनि हुनसक्छः डा. पारस थापा [भिडियाे]

केन्द्रबिन्दु
154
Shares

काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत न्यूरो इन्टरभेसनल रेडियोलोजिष्ट एसोसिएट्स प्रोफेसर डा.पारस थापा विगत ६ वर्षदेखि यसै क्षेत्रमा आबद्ध छन् । डा. थापा केएमसीमा न्यूरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न अत्यन्त आवश्यक वाइप्लेन क्याथ ल्याबका साथै विभिन्न अत्याधुनिक प्रविधिबाट उपचार हुँदै आएको बताउँछन् । उनै डा. थापासँग न्युरोइन्टरभेन्सन कस्तो प्रकृतिको उपचार पद्धति हो ? यो विषय पढ्न विद्यार्थीलाई के गर्नुपर्छ साथै खर्च कति लाग्छ जस्ता विषयलाई समेटेर केन्द्रबिन्दुकर्मी बालिका पोखरेलले गरेको कुराकानीको सम्पादित अंशः

न्यूरो इन्टरभेन्सन कस्तो प्रकृतिको उपचार पद्धति हो ?

-न्यूरो इन्टरभेन्सन वैज्ञानिक पद्धतिबाट उपचार हुने नयाँ प्रविधि हो । यसले टाउको चिरेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्छ । यस तरिकामार्फत खुट्टा या हातको नशाका नलीबाट दिमागमा नशा बिग्रिएको साथै रगत फुटेको, मस्तिष्क घात भएको, प्यारालाइसिस भएका र नशा बन्द भएका बिरामीहरूको उपचार गर्ने सकिने प्रविधि नै न्यूरो इन्टरभेन्सन हो । दिमाग भित्रको या दिमाग बाहिरको नशाहरूको खराबीको उपचार गर्ने आधुनिक प्रविधि भनेर पनि न्यूरो इन्टरभेन्सनलाई बुझ्न सकिन्छ ।

केएमसीले न्यूरो इन्टरभेन्सनसँग सम्बन्धी उपचार कसरी गराउँदै आएको छ ? बिरामीले मस्तिष्कसम्बन्धी उपचार गर्न केएमसी नै किन आउने ?

-केएमसी अस्पतालमा न्यूरो इन्टरभेन्सनको सेवामा सर्वप्रथम मस्तिष्कघातभित्र पर्दछ । जसमा दिमागको नशा बन्द भई मानिसलाई प्यारालाइसिस हुने गर्दछ । यस्तो अवस्थामा तत्काल बिरामीलाई अस्पताल पुर्याइयो भने छिटो रिकभरी हुनुका साथै मृत्युबाट पनि बचाउन सकिन्छ ।

त्यसैगरी दिमागको नशाहरू बिग्रिने, बेलुन जस्तो भएर नशा फुलेको हुन्छ । जुन बेला बिरामीहरू आफै औषधी सेवन गरी बस्ने गर्नुभएको पाइन्छ । र, समयमै उपचार गर्न नसक्दा उक्त बेलुन जस्ता फोकाहरू फुटेर विकराल रूप लिन्छ । उक्त फोकाहरू फुट्यो भने मानिसको ज्यान जानसक्ने सम्भावना ५० प्रतिशतले बढ्छ भने बाँकी ३० प्रतिशतसम्म हुँदा अस्पताल नै पुग्न भ्याउँदैनन् । अवस्था २० प्रतिशतमा पुग्दा उपचार गरी पहिला कै नर्मल अवस्थामा आउने सम्भावना एकदमै न्यून हुन्छ । तर, यस्तो प्रकृतिको रोगकाे उपचार पनि केएमसीमा हुँदै आएको छ ।

न्यूरो इन्टरभेन्सन पढ्न के गर्नुपर्छ ? पढाइ सक्न कति वर्ष लाग्छ ?

-नेपालमा न्यूरो इन्टरभेनिस्टहरु एकदमै कम रहेका छन् । अझ डीएम जसमा ३ वर्ष तालिम गरेको हुन्छ । यो विषय पढेर डाक्टर हुने संख्या नेपालमा ३/४ जनाको मात्र होला । यो विषय पढ्नको लागि सर्वप्रथम एमबीबीएस गर्नुपर्छ । त्यसपश्चात् एमडी रेडियोलोजी र डिएम न्युरो रेडियोलोजी एण्ड न्युरोइन्टरभेन्सन गर्नुपर्ने हुन्छ । यो सम्पूर्ण पढाइ सक्न करिव १५ वर्ष समय अवधि लाग्छ ।

न्युरोइन्टरभेनिस्टबाट कुन-कुन रोगको उपचार हुन्छ ?

-मष्तिस्कघात, एनयुरिजम, एरिएम, ब्रेन ह्यामरेज, ट्युमरका साथै नाकबाट रगत बग्ने, नाक, कान, घाँटीको ट्युमर जस्ता मस्तिष्क रोगका उपचार न्युरोइन्टरभेनिस्टको माध्यमबाट गर्न सकिन्छ ।

क्रोनिक डिजिजले पछि मस्तिष्कमा कस्तो जोखिम ल्याउन सक्छ ?

-एनयुरिजम जसमा मस्तिष्कको नशा बेलुन जसरी फुलेको हुन्छ । र, त्यसमा बारम्बार प्रेसर पर्यो भने समस्या निम्त्याउँछ । त्यस्तै सुगर, प्रेसर तथा हाइपरटेन्सन जस्ता क्रोनिक डिजिजले गर्दा दिमागको नशा साँगुरिने, दिमागको नशा बन्द हुने जस्ता जोखिम बढ्छ । यस्तो समस्या नआओस् भन्नका लागि ४० वर्ष कटेका व्यक्तिले टाउकोको एमआरआइएनजीओ जस्ता कुनै रेडिएसन लाग्छ वा न कुनै औषधी हाल्नुपर्छ । यसमार्फत दिमागमा भएको रक्त नलिका फोटोमात्र खिचेको हुन्छ । जस माध्यमबाट नशा फुटेर मृत्यु हुने जोखिमको न्यूनीकरण हुन्छ ।

अधिकांश नेपालीको रोगमध्ये एउटा टाउको दुखाइ पनि बनेको हुन्छ ? कुन हदसम्मको टाउको दुख्दा चिकित्सक भए ठाउँमा जाने ?

-टाउको दुखाई धेरै किसिमको हुन्छ । सम्पूर्ण टाउको दुखाइको समाधान पेन किलरले हुँदैन । त्यही भएर डाक्टरको राय सुझाव अनुसारले मात्र औषधी सेवन गर्नुपर्ने हुन्छ । कति टाउको दुख्दा चिकित्सकलाई देखाउने भन्ने विषयमा कोही टाउको दुखेको बिरामीलाई उसको दुखाइको रेटिङ गर्नुभन्दा १० मा १० भन्छ भने वा टाउकोमा घनले हानेको जस्तो गरी दुख्छ भने त्यो दिमागमा बिल्डिङ भएको हो । यस अवस्थामा बिरामीले एक सेकेण्ड पनि ढिला नगरी चिकित्सक देखाउनुपर्ने हुन्छ । यसैगरी कतिपयको दुखाइ कम गर्ने औषधी सेवन गर्दै बस्ने बानी हुन्छ । यस्तो प्राय माइग्रेन हेडएकको अवस्थामा गर्ने गरेको पाइन्छ । यस्तो बानी स्वास्थ्यका हिसाबले अत्यन्तै हानिकारक हो ।

मष्तिस्कघात हुँदा शरीरमा के कस्ता लक्षण देखिन्छन् ?

-दिमागको रगत साँघुरिएर या ब्लक भएर दिमागको न्यूरन्सहरु मर्दै जाने र अचानक शरीरको एक हर नचल्ने, मुख बाङ्गो हुने, भिजन लस हुने, बोली लर्बरिने, हात खुट्टा उचाल्न नसकिने जस्ता लक्षण देखिनु नै मष्तिस्कघात हुनु हो । हृदयघात जति सामान्य रूपमा आम मानिसले बुझेका छन् त्यसरी मष्तिस्कघातलाई बुझेको पाइँदैन । मष्तिस्कघात भएका बिरामीको जति छिटो उपचार हुन सक्यो त्यति नै उसलाई बचाउन सक्ने सम्भावनाको वृद्धि हुन्छ ।

त्यति मात्र होइन उक्त बिरामी यदि समयमा नै उपचारका लागि अस्पताल पुग्ने हो भने सफल उपचार पश्चात् १ घण्टाभित्र ठिक भएर घर फर्केको रेकर्ड पनि रहेको छ । जुन ७० प्रतिशतभन्दा बढी केसहरुमा सम्भव पनि भएका छन् । त्यसकारण यस्तो अवस्थामा अस्पताल सकेसम्म चाँडो जाने र जाँदा पनि न्यूरोसम्बन्धी कहाँ सेवा सुविधा छ त्यस्तो अस्पतालमा जानुपर्छ ।

ब्रेन ह्यामरेज हुनुका कारण के हुन् ?

-ब्रेन ह्यामरेज मष्तिस्कघातकै एक प्रकार हो । यसका विभिन्न कारणहरू हुन्छन् । केही कारणमा हाइपरटेनसन, ब्लड प्रेसर, एभिएम (नशाको गुजुल्टोहरु फुट्ने), एन्युरिजम फुट्नेहरु पर्दछन् । ह्यामरेजको उपचारमा फिँजियो थेरापिस्टको उत्तिकै आवश्यक हुन्छ । जति उपचार हुन्छ, त्यो उपचार फिजियोथेरापी विना सम्पन्न नै हुँदैन । यसको उपचारमा दिमागमा भएका नशामा पाइप हालेर खोल्ने जस्ता कार्य गर्दा साथै दिमागमा बिल्डिङ भइसकेपछि केही न केही न्यूरोलोजिकल डिफिसियन्ट हुने हुँदा यसमा फिजियोथेरापी रामवाण नै बन्न पुग्छ । जसले हात खुट्टा नचल्ने या कम चल्ने, राम्रोसँग हिँड्न नसक्ने जस्ता समस्याको समाधान हुन्छ ।

मस्तिष्कसम्बन्धी रोग लाग्न नदिन के गर्ने ?

-नेपाली समाजमा विशेष त मस्तिष्कसम्बन्धी रोगहरू वंशाणुगत हुने गरेको पाइएको छ । त्यसकारण पनि जसको पूर्वजमा मस्तिष्कसम्बन्धी समस्या देखा परेका थिए, उसले अझ बढी सजग हुनुपर्ने हुन्छ । यसका साथै ४० वर्ष कटेका व्यक्तिले वर्षमा एकपटक डाक्टरको सल्लाह अनुसार आफ्नो मस्तिष्क जाँच गर्ने गर्नुपर्छ । त्यसैगरी चक्कर लागि राख्ने, दिमागमा नशा साँघुरिएर रगत सञ्चारमा समस्या हुने गर्छ । जसमा ढिला नगरी डाक्टरको राय सुझावअनुसार उपचार गराउँदा भविष्यमा हुने खतराबाट बच्न सकिन्छ । साथै क्रोनिक डिजिजका कारण मस्तिष्कमा समस्या हुने भएकाले पनि यसको नियन्त्रण गर्नु उपयुक्त हुन्छ ।

Logo