डेङ्गु सङ्क्रमण फैलिएपछि लार्भा नष्ट गर्दै गाउँपालिका

डेङ्गु सङ्क्रमण फैलिएपछि लार्भा नष्ट गर्दै गाउँपालिका

केन्द्रबिन्दु
56
Shares

चितवन । डेङ्गु सङ्क्रमण बढेसँगै चितवनको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ ।

गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिए ।

गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उनले बताए । स्वास्थ्य शाखा प्रमुख देवकोटाले भने, “गाउँपालिकाको सबै वडा र टोलहरूमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने छौँ ।”

गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोमबार मात्रै ७ जनामा डेङ्गुु सङ्क्रमण देखिएको छ । इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिए । उनका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन् । बाँकी वडा नं ३ र ४ का ३ जनामा डेङ्गु सङ्क्रमण भएको छ ।

सङ्क्रमितमध्ये अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरू छन् । उनका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ । सङ्क्रमितहरूको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताए । अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ ।

Logo