एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँलेमा खुसियाली

एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँलेमा खुसियाली

केन्द्रबिन्दु
84
Shares

बाँके । “हाम्रो गाउँपालिका राजमार्गमा पर्ने भएकाले यहाँ प्रायः सवारी दुर्घटना भइरहन्छन्, पहिले बिरामीलाई अस्पताल लैजानका लागि सवारीसाधन खोज्न निकै आपत् पर्थ्यो । तर हाल एम्बुलेन्स सञ्चालनमा आएदेखि सवारीसाधनका लागि भौतारिनु पर्दैन । समयमा नै अस्पताल पुगिन्छ भन्ने विश्वास जागेको छ”, यो भनाइ हो बाँकेको राप्तिसोनारी गाउँपालिका–२ की मिना वलीको ।

मीनाले धेरैपटक राजमार्गमा भएका दुर्घटना नजिकबाट देखेकी छिन् । प्रायः रातिको समयमा दुर्घटना हुने हुँदा समयमै उपचार नपाउँदा कतिपयले ज्यान गुमाएको पनि उनको सम्झनामै छ । त्यसैले यहाँका स्थानीयले भरपर्दो एम्बुलेन्स सेवा सञ्चालनका लागि आवाज उठाइरहेका थिए । तीमध्ये मीना पनि एक थिइन् । पछिल्लो समय यहाँ चौबिसै घण्टा सेवा दिने गरी एम्बुलेन्स सञ्चालनमा आएपछि पहिलेको जस्तो समस्या नहुने उनको विश्वास छ ।

मीनाजस्तै सोही गाउँपालिका–८ का रामशरण थारुले पालिकामा एम्बुलेन्स सेवा सुरु भएपछि खुसी छन् । “निकुञ्जसँगै जोडिएको राजमार्गका कारण यहाँ सवारी दुर्घटनाका साथै वन्यजन्तुको आक्रमणबाट पनि बेलाबेला समस्या हुने गरेको छ । विगतमा धेरैले दुःख पाएका छौँ । कतिले समयमा अस्पताल पुर्‍याउन नसक्दा ज्यान गुमाएका पनि छन्”, उनले विगत सम्झिँदै भने,“ अब आफ्नै पालिकामा चौबिसै घण्टा एम्बुलेन्स सेवा सुरु भएको छ । अब समयमै अस्पताल नपुर्‍याएका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु पर्दैन भन्ने विश्वास जागेको छ ।”

सोही पालिका–२ का कार्यवहाक वडाध्यक्ष दीर्घबहादुर बुढाक्षेत्री पनि विगतमा सवारीसाधनको अभावमा समयमै अस्पताल पुर्‍याउन नसक्दा धेरै घाइते तथा बिरामीले ज्यान गुमाएको स्मरण गर्छन् । “अकस्मात कुनै घटना भइहालेमा कोहलपुर मेडिकल र नेपालगञ्ज मेडिकल कलेजसम्म पुग्न समस्या हुने गर्थ्यो । समयमा अस्पताल पुर्‍याउन नसक्दा धेरैले अकालमा ज्यान गुमाउनु परेको आफ्नै आँखाले देखेको छु । त्यही समस्या समाधान गर्न पालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । अब केही राहत हुनेछ”, उनले भने ।

बाँकेको राप्तिसोनारी गाउँपालिकाले सर्पदंश उपचार केन्द्रका लागि भन्सार तीरेर ल्याइएको एम्बुलेन्सलाई सञ्चालनको जिम्मा सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणलाई दिएको छ । असोजको १ गतेदेखि सशस्त्र प्रहरी बलले एम्बुलेन्स सञ्चालनको जिम्मा लिएको हो ।

गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले जनतालाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेर ल्याइए पनि केही प्राविधिक कारणले सञ्चालन गर्न नसकिएको बताए । उनले सशस्त्र प्रहरी बललाई एम्बुलेन्स हस्तान्तरण गरेसँगै सेवा प्रवाहमा सहजता हुने विश्वास व्यक्त गरे । “पूर्वपश्चिम राजमार्गमा हुने सवारी सडकलगायत समस्यामा उद्धार तथा भैपरी आउने दैविक प्रकोपको उद्धारमा पनि सहयोग पुगोस् भन्ने उद्देश्यले एम्बुलेन्स हस्तान्तरण गरिएको छ । पक्कै पनि सोहीअनुसार सञ्चालन हुनेछ”, अध्यक्ष पौडेलले भने ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताए । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्‍याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उनको भनाइ छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ४२ रिजर्भ गणका गणपति क्षेत्रीले पालिकाले विश्वास गरेर एम्बुलेन्स हस्तान्तरण गरेकाले सोहीअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए । सम्झौताअनुसार हालका लागि एम्बुलेन्स सेवा पालिकाको वडा नं २, ८ र ९ मा सञ्चालनमा आएको छ । सम्झौतामा उल्लेख भएअनुसार उक्त एम्बुलेन्स चालक र एम्बुलेन्सको संरक्षण सशस्त्र प्रहरीले गर्नेछ भने एम्बुलेन्सको ईन्धन र मर्मतलगायतका अन्य खर्चको जिम्मेवारी पालिकाले नै बेहोर्ने छ ।

Logo