प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठलाई बर्खास्त गर्न माग

प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठलाई बर्खास्त गर्न माग

केन्द्रबिन्दु
140
Shares

भक्तपुर । भक्तपुरको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा भएको अनियमितताविरुद्ध आन्दोलनरत स्थानीयबासीले कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा एक पत्र बुझाउँदै अनियमितता, भ्रष्टाचार र मानव अंग तस्करीमा संलग्न भएको भन्दै डा श्रेष्ठलाई कारवाही स्वरूप बर्खास्तको माग गरिएको हो ।

भक्तपुर नागरिक सरोकार समाज सेवा सुचारु संघर्ष समितिका तर्फबाट विष्णुकुमार पौडयाल, चन्द्रलाल सुवाललगायतले स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई बर्खास्तको पत्र बुझाएका हुन् । उनीहरूले अस्पतालभित्र भइरहेको अनियमितता र बेथिति तत्काल अन्त्य गर्न माग पनि गरेका छन् । लामो समयदेखि केन्द्रमा भइरहेको बेथिति र अनियमितता सम्बन्धी मौखिक तथा लिखित रूपमै सरकारलाई अवगत गराउँदै आएको भए पनि सुनुवाइ नभएपछि आन्दोलनकै कार्यक्रम स्वरूप पत्र बुझाइएको सुवालको भनाइ छ ।

पन्ध्र दिनदेखि अस्पतालको गेटअगाडि विरोध प्रदर्शन गर्दै आइरहेका उनीहरूले भ्रष्टाचारी र अयोग्य नेतृत्वलाई अविलम्ब कारबाही, गैरकानुनी तरिकाले बर्खास्त चिकित्सकहरूलाई अविलम्ब पुनःबहाली, मुटु, कलेजो, मृर्गौला फोक्सो तथा नशा सेवाहरूलाई तुरुन्तै सुचारु गरी व्यवस्थित, सबै प्रकारका अस्पतालभित्र हुने सामाजिक उत्पीडन बन्द , कर्मचारीहरूको रोकिएको तलब सुविधा तुरुन्तै भुक्तानी गर्नुपर्नेलगायतका माग राख्दै आएका थिए ।

आन्दोलनकै सिलसिलामा उनीहरूले स्वास्थ्यमन्त्री पौडेललाई भेटेर ज्ञापन पत्र बुझाइसकेका छन् । झण्डै दुई सय जनाको हस्ताक्षरसहित उनीहरूले केन्द्रमा रहेका बेथितिहरूका विषयमा मन्त्री पौडेललाई जानकारी गराएका थिए ।

केन्द्रमा मुटु, कलेजो, मिर्गौला, फोक्सो तथा नसा सेवा तत्काल सुचारु गर्नुपर्ने, विहान ९ बजेदेखि ४ बजेसम्म सेवा दिने वातावरण बनाउनुपर्ने, अस्पतालभित्र हुने सबै प्रकारका सामाजिक उत्पीडन अन्त्य हुनुपर्ने, कर्मचारीहरूको रोकिएको तबल भत्ता श्रम ऐनअनुसार भुक्तानी हुनुपर्ने र केन्द्रको नेतृत्वलाई कारवाही गर्नुपर्ने उनीहरूको माग छ ।

सरकारले कार्यकारी निर्देशक डा श्रेष्ठलाई तत्काल बर्खास्त नगरे अस्पताल प्रवेशमा रोक लगाउने र आन्दोलनकारीका तर्फबाट कारबाही गर्ने चेतावनी समेत दिएका छन् ।

Logo