विपद्पछि स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अवलोकन गर्दै स्वास्थ्यमन्त्री

विपद्पछि स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अवलोकन गर्दै स्वास्थ्यमन्त्री

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा विपद्पछि स्वास्थ्य संकट निम्तन नदिन स्वास्थ्यकर्मीहरूले गरिरहेको कामको अवलोकन गरेका छन् ।

बाढी र पहिरोका कारण धनजनको क्षति भएको काभ्रेप्लाञ्चोकको पनौती र बेथानचोक पुगेका मन्त्री पौडेलले विपद् प्रभावितको उपचार भइरहेको धुलिखेल अस्पतालमा पुगेर बिरामीहरूले निःशुल्क उपचार पाएनपाएको जानकारी लिए ।

मन्त्री पौडेलले उपचाररत बिरामीहरूसँग सेवाबारे जानकारी लिँदै निःशुल्क उपचार पाएनपाएको तथा गुणस्तर कस्तो रह्यो भन्दै बिरामीसँग प्रश्न गरे ।

परिवारका सात जना गुमाएका माइला तामाङसँग परिवारको दुःखप्रति सहानुभूति प्रकट गर्दै उनले उपचार सेवामा कुनै कमि भए भन्न आग्रह गरे । जवाफमा तामाङले भने, ‘उपचार त राम्रो पाइरहेको छु । पैसा तिर्नु पनि परेन । तर परिवारका कोही बचेनन्, बस्ने घर पनि छैन । सरकारले उपचारपछि जाने ठाउँ पनि खोजिदिए हुन्थ्यो ।’ जवाफमा मन्त्री पौडेलले उपचारको सबै जिम्मा सरकारले लिने भन्दै बाँकी सहयोगका लागि पनि सकेको पहल हुने बताए ।

मन्त्री पौडेलले बिरामीको उपचारका लागि धुलिखेल अस्पतालले पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै अब प्रदूषित पानी तथा फोहोरका कारण संक्रमण फैलनसक्ने भन्दै त्यसलाई रोकथाम गर्न पनि सचेतना फैलाउन र उपचारको तयारी गर्न आग्रह गरे ।

मन्त्रालयले स्वास्थ्य संकट आउन नदिन पानीको शुद्धीकरण र सरसफाइ बढाउन अनि बिरामीको सहज उपचारका लागि आवश्यक हरसम्भव उपाय अपनाउने भन्दै उनले सचेतना फैलाउने काममा तीनवटै तह मिलेर जान सकिए मात्र सम्भव हुने बताए ।

पनौती १२ भूमिडाँडा कलातीमा पहिरोमा भत्किएको स्वास्थ्यचौकीको विकल्पमा टेन्ट टाँगेर उपचार गरिरहेका स्वास्थ्यकर्मीलाई सेवाका लागि धन्यवाद दिँदै मन्त्री पौडेलले नागरिकलाई संक्रामक रोग लाग्न नदिन पानीको शुद्धीकरण र सरसफाइका लागि चाहिने सामग्री आवश्यकताअनुसार उपलब्ध गराउने बताए ।

Logo